Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौंः मन्त्री श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औंल्याएका छन् ।

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिएका हुन् । गत मंसिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका हुन् ।

‘जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन’, उनले भने, ‘पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भइसकेको छ ।’ पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उनको भनाइ थियो ।

’शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ’, मन्त्री श्रेष्ठले भने, ‘हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।’ त्यस अवसरमा उनले शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा आफ्नो एक सय दिनको प्रगति र समीक्षा गर्ने जानकारी समेत दिए ।