Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटाको गुम्यो सांसद पद, मुख्यमन्त्री पाण्डे फेरि अल्पमतमा

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका फणिन्द्र देवकोटाको सांसद पद गुमेको छ ।

नेकपा माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले सभामा पढेर सुनाए लगत्तै देवकोटाको सांसद पद गुमेको हो । शुक्रबार बसेको प्रदेश सभा बैठकका सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई कारबाही गरिएको सम्बन्धी माओवादी संसदीय दलको पत्र पढेर सुनाएका थिए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम देवकोटालाई कारबाही गर्न माग गर्दै माओवादी संसदीय दलले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका देवकोटा २०७९ सालको आम निर्वाचनमा माओवादीको चिन्ह लिएर चुनाव लडेका थिए । जेठ २८ गते प्रदेश सभामा उनले कांग्रेसका पाण्डेलाई मत दिएर सरकार जोगाइदिएका थिए । देवकोटाको पद गएसँगै पाण्डे फेरि अल्पमतमा परेका छन् ।