Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने

नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ ।

शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्यानल बनाएर चुनाव लड्न राक लगाउने उल्लेख गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर निर्वाचन लड्न पाइने छैन्’ अपानिमा भनिएको छ । त्यस्तै महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादीका भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहने छन् । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहने छन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् । एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर नयाँ दल बनेको भए पनि एमाले हुँदाकै अवस्थालाई निरन्तरता दिदै १०औं महाधिवेशन गर्दैछ ।