Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

‘रवि लामिछानेले संसदमा दिएको अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः सदनबाट डराएर भाग्न खोज्नु भएको हो?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने माग गरेको छ ।

आज शुक्रबारको संसद बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेले गम्भीर अभिव्यक्ति दिएको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए । संसदमा छलफल चलिरहँदा मन्त्रीहरू अनुपस्थित रहेको भन्दै लेखकले त्यसबारे सभामुखले रुलिङ गर्नुपर्ने बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि संसदमा जानकारी दिइनुपर्ने लेखकको भनाइ छ । उनले प्रधानमन्त्रीले सदनलाई बिर्सेको भन्दै आलोचना समेत गरे ।

उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनु होला भनेर । पाँच दिनसम्म यहाँ आउन सक्नु भएन ।’ उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनु पर्ने दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको उनले सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।