Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पदाधिकारी चयन नै नगरी सकियो जसपा नेपालको पहिलो महाधिवेशन

जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशन पदाधिकारी नै चयन नगरी सकिएको छ । पदाधिकारी चयन प्रक्रिया चुनावबाट नगरी सहमतीय आधारमा गरिने भएको थियो । यसअघि बिहीबार मध्यान्हका लागि चुनाव गर्ने कार्यतालिका तय भएको भए पनि अन्तिममा पदाधिकारी चयन नभइ महाधिवेशन सकिएको हो ।

बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन समेत भएको थियो । जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन् । अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरेर सहमतीय आधारमा नेतृत्व चयन गर्नेगरी महाधिवेशन सकिएको घोषणा गरेका हुन् ।

अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो । भोटिङ गर्ने प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन् । त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमति जुटाउनेछ ।