Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

अपि हिमालमा ट्रेकिङ प्रवर्द्धन अभियान

सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमालको प्रवर्द्धनको लागि अपि हिमाल वेसक्याम्पसम्म ट्रेकिङ सुुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र युएनडीपीको संयुक्त लगानीमा संचालित परियोजना एसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपि हिमाल गाउँपालिकामा अविस्थत अपि हिमाल आधार शिविरसम्मको  ट्रेकिङ सम्पन्न भएको हो ।

अपि हिमाल आधार शिविर सुदूरपश्चिम क्षेत्रकै एक प्रमुख आकर्षण पर्यटकीय गन्तव्य हो । गुराँस हिमश्रृंखलामा अवस्थित ७ हजार १३२ मिटरको उचाइमा रहेको अपि हिमाल नजिकै नाम्पा, बबईया, जेठीबहुरानी, कापोचुली जस्ता थुप्रै हिमालहरु पनि छन् । मौसम अनुसार निलो र हरियो रंगमा परिणत हुने कालिढुङ्गा ताल अनि राईदुंगी ताल जस्ता थुप्रै तालतलैया पनि त्यस क्षेत्रमा पर्दछन् ।

Api Himal (4).jpeg

अपि हिमालको काखमा रहेको चमेलिया नदीलाई धार्मिक मान्यता अनुसार भगवान शिवको शिरबाट बगेको गङ्गा नदी मानिन्छ । यहाँका गाउँबस्तिहरुको छुट्टै सुन्दरता छ ।

कसरी जाने अपि हिमाल ?
चमेलीया नदीको मुहान भएर अपि हिमाल अपि बेस क्याम्प जान काठमाडौंबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपि हिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म दुई दिन पैदल यात्रा गर्नुपर्छ । मकरीगाडदेखि अपि हिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेसक्याम्प जान सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढि फर्किन सकिन्छ । बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको व्यवस्था छ ।

Api Himal (20).jpeg

मकरीगाढदेखि उकालो लाग्दा ४ हजार पाँच सय सिढिं चढेर मकरीकोट डाँडोमा पुग्न सकिन्छ । टाढाबाट हेर्दा यो चीनको ग्रेटवाल जस्तै लाग्छ । स्थानीयहरु यसलाई मिनी ग्रेटवाल पनि भन्ने गर्दछन् ।

Api Himal (1).jpeg

राजा जतार सिंहको पालामा घोडा सवारको लागि बनाएको बाटोलाई सिँडी बाटोको रुपमा विकास गरिएको र यो रमणीय पदमार्गको रुपमा प्रचलित भएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताए । “विकट भएर पनि प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिएको दार्चुलामा अपि हिमालको प्रवर्द्धनले पर्यटक आगमन बढ्ने विश्वास छ,” अध्यक्ष बोहराले भने ।

मल्देशी संस्कृति 
यहाँ मौलिक भाषाको गीत र पहिरनमा नाचिने संस्कृति, परम्परा अनि भेषभूषाको पनि छुट्टै आकर्षण छ । खण्डेश्वरीमा बाइसे चौबिसे राज्य व्यवस्था भएको समय देखि नै चलिआएको मल्देशी संस्कृतिको पहिरन र चाहाई नाचको सुन्दरता यहाँको अर्को विशेषता हो । अहिले पनि यो गाउँपालिकाको अधिकांश गाउँघरमा घरेलु सीप र कलाबाटै भेडाको ऊन, भाङग्रो जस्ता घरेलु उत्पादनबाट आफ्नो पहिरन निर्माण गरेको दृश्यहरु देख्न पाईन्छ । यो सँगै विश्वमै दुर्लभ जडिबुटी यार्सागुम्बा पाइनु यस गाउँपालिकाको अर्को विषेशता हो ।

पर्यटकीय सूचना केन्द्र 
त्यता  जाने पर्यटकको यात्रा सजिलो पार्न गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र खोलिएको छ । त्यहींनेर कोशेली घर पनि छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) र अपि हिमाल गाउँपालिका दार्चुलाको  सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरिएको हो ।  पालिकाका अध्यक्ष बोहराले सूचना केन्द्र र कोशेलीको उद्घाटन गरेका थिए । अपि हिमालको म्याप समेत विमोचन गरिएको छ ।  

Api Himal (12).jpeg

ट्रेकिङमै सहभागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपि हिमाल ट्रेकिङ पर्यटनको लागि राम्रो उत्पादन भएको बताए । एसटिएलआरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले परियोजनाले पालिकासँगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाडदेखि अपि हिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण, पर्यटक सूचना बोर्ड, फोहरमैला व्यवस्थापन लगायतका कार्य गरेको बताए ।

Photo.jpeg

नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनका सम्भावना रहेकोमा अपि हिमाल ट्रेकिङ नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताए । 

Api Himal (6).jpeg