Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

एक छिन मेरा कुरा सुन्नुस त !

तपाईं मजदूर हुनुहुन्छ 
संभवत: खाडीमा हुन सक्नु हुन्छ
तपाई किसान हुनुहुन्छ 
कुनै बुट्यान झाडीमा हुन सक्नु हुन्छ
सुकुम्बासी हुनुहुन्छ
कुनै खोलीको किनारमा हुन सक्नु हुन्छ
या बेर‍ोजगार हुनुहुन्छ 
या साहुबाट सताइएको हुनुहुन्छ 
या बैङ्कबाट लखेटिएको हुनुहुन्छ
तर तपाईलाई मार्क्सवाद मन पर्दैन भने 
झनक्क झनक्क रिस उठ्छ भने
तपाईको मार्क्सवादसँग भेट भएकै छ‌ैन 
जे कुरासँग तपाईको सङ्गत भयो 
त्यसको मार्क्सवादसँग टाढाको नाता पनि थिएन 
मार्क्सवाद भनेर तपाईको 
पक्कै कुनै ठगसँग भेट भयो
कुनै गद्दार, कुनै तस्कर, कुनै भ्रष्टाचारी
या कुनै कायरसँग भेट भयो 
या त मार्क्सवाकै हत्यारासँग भेट भयो
तपाई ठगिनु भयो 
तपाई लुटिनु भयो
तपाईमाथि धोका भयो
तपाई माथि ज्यादती भयो 
भेदभाव र उत्पीडन भयो
पक्कै तपाईमाथि घात भयो
त्यसैले तपाई रिसाइरहनु भएको छ 
त्यसैले तपाई गाली गरिरहनु भएको छ।

तपाईं महिला हुनुहुन्छ
महिला पनि मजदुर महिला
दलित महिला या मधेशी महिला
जनजाती महिला या मुस्लिम महिला 
पितृसत्ताले अधपिल्ठो पारेर पोलेकी महिला 
तर पनि तपाई 
मार्क्सवादसँग भागिरहनु भएको छ भने
एउटा कुरा छ
भाग्न छोडेर एक छिन रोकिनुस 
धैर्य गर्नुस र पछाडि फर्केर हेर्नुस त
तपाईलाई लखेटिरहेको चिज
अलिकति पनि मार्क्सवाद होइन
त्यो त संसोधनवाद हो
साम्राज्यवादको ठिमाहा सन्तान 
राम्रोसँग हेर्नु भयो त ?

तपाई दलित हुनुहुन्छ 
दलितमा पनि मधेशी दलित
तपाई मधेशी हुनुहुन्छ
मधेशीमा पनि डोम हलखोर 
तपाई जनजाती हुनुहुन्छ 
जनजातीमा पनि भरिया ज्यामी
तपाई अल्पसङ्ख्यक जाती हुनुहुन्छ
त्यसमा पनि लोपोन्मुख 
तर तपाईलाई
मार्क्सवादको 'म' सुन्दै रिस उठ्छ भने 
एक छिन पर्खनुस 
तपाईलाई कसैले 
लाजभाँड कुरा सुनाएको  हुनुपर्छ
र मार्क्सवाद यही हो भनेर भनिदिएको हुनुपर्छ
त्यसैले तपाई सरापेर बस्नु भएको छ।

कहिले आपसमा फुटेर 
र कहिले पुच्छर गाँसेर 
बारम्वार सरकार चलाइरहेका 
कम्युनिष्टको बर्को ओढेका
संसदीय स्यालहरूलाई देखेर 
तपाईलाई दिङमिङ भैरहेको छ 
र तपाईलाई 
कम्युनिष्ट अमन भएको छ भने हुन दिनोस 
त्यो कम्युनिष्ट अमन भएको हुदै होइन 
संसोधनवाद अमन भएको हो 
आफूले सेवन गरिरहेको कुरा जाँच्नुस
त्यसमा मार्क्सवादको गन्ध पनि छैन 
बरु पूँजीवादको बासी पिठोलाई
मार्क्सवादको फोटो टाँसेर ठगिएको छ ।

आफूलाई कम्युनिष्ट भन्ने
मन्त्री र सान्सदहरू
मेयर र पालिका प्रमुखहरू
पिविएम, सिसिएम र डिसिएमहरू
भोका स्यालजस्ता
युवा संगठन नामका 
लाल ठगहरू र लाल मण्डलेहरू
तिनीहरूलाई देख्नासाथ
तपाईलाई मुखमा थुकिदिऊँजस्तो लाग्छ भने
एक छिन मेरा कुरा सुन्नुस-
थुकेर मात्र केही हुदैन 
ती निर्घृणीहरूले 
तपाईले थुकेको थुक पनि चाट्ने छन 
र एक पटक अझै थुकिदेऊ न भन्ने छन
त्योभन्दा बरु 
दाम्लो ठिक पार्नुस 
घाँस ठिक पार्नुस
कुँडो ठिक पार्नुस 
किलो ठिक पार्नुस 
अनि यस पछि गर्ने काम गर्नुस ।

एक छिन मेरा कुरा सुन्नुस त 
जुन दिन तपाईको 
मार्क्सवादसँग भेट हुनेछ 
प्रेममा पर्दाको पहिलो भेटजस्तो हुने छ 
लाज, खुसी र उमङ्ग 
एकसाथ मनभित्र उर्लने छ 
तपाई मार्क्सवादमा डुब्नु हुनेछ 
मार्क्सवाद तपाईभित्र हराउने छ
तपाईले जिन्दगीको अँध्यारोमा 
टाढासम्म देखिने उज्यालो पाउनु हुनेछ 
मार्क्सवादले तपाईमा 
एउटा कहिलै नथाक्ने काँध पाउने छ।
मार्क्सवादसँग तपाईको 
सागरभन्दा गहिरो प्रेम पर्ने छ ।

र, त्यसपछि
तपाई र मार्क्सवादको प्रेमको कम्पनले
लुटेराहरूको स्वर्गको धुरी खाँबो भाँचिने छ ।