श्रृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। मंगलबार दिउँसो ४ बजेतिर उपचारको क्रममा उनको निधन भएको हो।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। निमोनिया र जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ अस्पताल लगिएको शुभप्रभात साहित्री कुन्जका उपाध्यक्ष कृष्ण मर्सानीले बताए। ‘श्वासप्रस्वासमा समस्या देखिएर लगिएको थियो। किड्नी, फोक्सोमा पनि समस्या भएक्प रहेछ,’ उनले भने। पंगेनीको बुधबार दिउँसो अन्त्येष्टि गरिने मर्सानीले जानकारी दिए।
कास्कीको रुपा गाउँपालिका घर भएका ७० वर्षीय पंगेनी सोमबार अस्पताल भर्ना भएसँगै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनको उपचारका लागि आर्थिक जटिलता भएको र त्यसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन सुरु भएपनि उनी संसार छाडी बिदा भएका छन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
प्रकटको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ...’ भन्ने गीत निकै चर्चित छ। १५ सय बढी गीत रचना गरेका उनका ६० हाहारीमा गीतहरु रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरु’ गजलसंग्रह प्रकाशन भएका छन्। साहित्य साधनामा ३० को दशकदेखि क्रियाशील प्रकट २०३९ सालमा भएको नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेता घोषित भएका थिए। आफ्नाे जन्मगाउँ रुपामा फार्म र कटेज संचालनको तयारीमा जुटिरहेका प्रकट नफर्कने गरी बिदा भएका छन्।