Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमारको ‘ओयाम दर्पण’ दुवै कृति एकसाथ सार्वजनिक

गीतकार तथा लेखक लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृति सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा दुवै कृति काठमाडौंमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सार्वजनिक गरिएको हो।

शिक्षकसमेत रहेका ७७ वर्षिय भिमकुमार सेलिङ श्री गुप्तेश्वर माध्यमिक विद्यालय याङ्वरक ३, ओयामका पूर्व प्रअ हुन् । यसअघि सेलिङको ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक प्रकाशित छ । ‘ओयाम दर्पण’ उनको दोस्रो कृति हो ।

समाजसेवामा समेत सक्रिय गीतकार तथा लेखक लिला सेलिङ भिमकुमारकै सुपुत्री हुन् । आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराइसकेकी लिलाको यसअघि अंग्रेजी भाषामा ‘मेमोरिज अफ गोर्खा ड्युरिङ लकडाउन’ संस्मरण पुस्तक र ‘लाहुरेनी पीडा’ कवितासंग्रह प्रकाशित छ भने सुब्बा, सुभाङी र निशान बारे खोजमुलक लेखहरू पनि लेखेकी छन् ।

नेपाली, अंग्रेजी र लिम्बू भाषामा पुस्तक लेखेकी सेलिङले अब विशुद्ध लिम्बू भाषामा पनि पुस्तक लेखिनुपर्ने भएको हुँदा लिम्बू भाषामा संग्रह निकालेको बताइन् । बुबाछोरीको एकैपटक पुस्तक निस्किनु एउटा संयोग रहेको उनले बताइन्। ‘मैले वहाँसँगै आफ्नो पुस्तक विमोचन गर्न पाउनु मेरो लागि वहाँकै आशिर्वाद हो । वहाँसगै कलम चलाउन पाउँदा मलाई उर्जा मिल्छ’, उनले बताइन् ।