Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

नयाँ दुश्मन

मैले दुश्मनलाई भनेर
दुश्मन-दिशामा
दुश्मनकै ठेगानामा हानेको ढुङ्गो
तिम्रो निधारमै लाग्छ भने 
म मेरो विवेकलाई दोष दिऊँ
र माफी मागौं 
या खुच्चिङ भनौं?
कस्तो असमन्जसमा परें ।

मैले सोची बिचारी 
शब्द शब्द अड्कली अड्कली
दुश्मनलाई जब गाली गरें
सवाल जवाफ गर्न 
चिनेकै दुश्मन आउला भन्ने सोचेथें
तर पुरानो मित्र तिमी पो आयौ
पाखुरा सुर्कदै 
मेरो गिदी हल्लिएको छ यति खेर
यो सब के भएको हो ?
खै मेरो दुश्मन ?

दुश्मनको अखाडामा हमला गर्न
जब म गएँ रेकी गर्न 
अखाडामा घाम तापेर 
हरेक दिन तिमी नै बसेको देखें 
देख्न त अरु पनि देखें
जो परिचित दुश्मन थिए 
मेरो पुरानो मित्र 
तर तिमी त्यहाँ कसरी?

तिमी बास्तवमा को हौ?
मेरो पुरानो मित्र,
या मेरो नयाँ दुश्मन?

म सोचिरहेकोछु 
दुश्मनलाई भनेर
दुश्मन बस्ने दिशामा
दुश्मन बस्ने ठेगानामा 
मैले ढुङ्गा प्रहार गर्दा कुनै दिन
किन लागेको थियो तिम्रो निधारमा?

मैले बल्ल चिने
तिमी मेरो पुरानो मित्र होइन रहेछौ
बरू  मेरो नयाँ दुश्मन रहेछौ ।