Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

दुर्गा प्रसाईंको बि एण्ड सी मेडिकल कलेजको सम्बन्धबारे सर्वोच्चले आज निर्णय सुनाउने

सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजको सम्बन्धबारे परेको रिट निवेदनमा सोमबार निर्णय सुनाउने भएको छ। मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ सकिएको तीनवटा रिटमा सोबार निर्णय सुनाउनका लागि पेशी तोकिएको छ।

झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए।

त्यसपछि प्रसाईंले २०७७ असोज ३० मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध फेरि अर्को रिट निवेदन हालेका थिए। त्यस्तै, रिट निवेदनको प्रतिवादमा शशिविक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गर्दै २०७८ भदौमा रिट हालेका थिए। ती सबै रिटको एकमुष्ट सुनुवाइ गरेर सोमबार सर्वोच्चले निर्णय सुनाउने भएको हो।

गोविन्द केसीको आन्दोलनका कारण सबै मापदण्ड पुगेर पनि बि एण्ड सीले सम्बन्धन पाउन सकेको छैन। कलेजमा करोडौं लगानी गरेर सम्बन्धन नपाउँदा प्रसाईं असन्तुष्ट बन्दै आएका छन्।