मरिसकें भनेर श्रध्दान्जली चढाएँ ।
धुकधुक गरेर जिल्ल पार्यो अहो जीवनले ।
रैछु म सास फेर्दै भोकाहरूको भोकमा
रैछु म आँसु झार्दै निमुखाहरूको शोकमा ।
रैछु म मुठ्ठी कस्दै योध्दाहरूको झोकमा
रैछु म वामे सर्दै गरीव दुःखीको लोकमा ।
मरिसकें भनेर.....
खोजें हजार चोटी राजधानीका सहरमा
खोजें हजार चोटी आफन्तका रहरमा
सपनाहरूमा खोजें विपनाहरूमा खोजें
मारेर आश सारा अन्तिम विकल्प रोजें ।
मरिसकें भनेर.....
खोजें पदाधिकारी पोलिटव्युरोभित्र
खोजें सदन-सभामा आफू भएको चित्र
धर्नाहरूमा खोजें,जुलुसहरूमा खोजें
भेटिंन र म पक्कै मरें भनेर सोचें ।
मरिसकें भनेर....
रैछु म दूरगामी काँडामय सफरमा
रैछु नदीसँगै म ढुङ्ग्याइलो बगरमा
म जहाँ थिएँछु त्यहाँ खोजिंन र डराएँ
रैछु जीवित ब्यर्थै मरें भनी कराएँ ।
मरिसकें भनेर.....