Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पर्यटकको रोजाइमा चंखेली हिमाल

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१४ मा रहेको चंखेली हिमालको फेदसम्म सडक सन्जाल पुगेपछि चंखेली चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ ।

चंखेली हिमाल समुन्द्र सतह देखी ४ हजार ५सय मिटरको उचाईमा रहेको छ ।  चंखेलीको टुप्पोबाट नेपालका ठूला नदी र तालहरु रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी नियाल्न सकिन्छ । यस्तै, चंखेली पुग्ने पर्यटकहरु हुम्ला, जुम्ला, बाजुरालगायत पाँच जिल्लाका हिमालहरुसँगै सत्यदेवीको अन्तिम अंग पतन भएको स्थान छाँयानाथ धामको अवलोकन गर्न पुग्ने गरेका छन् ।

Photo (3).JPG

सदरमुकाम गमगढी बजारदेखिख गाडी वा मोटरसाइकलको यात्रा गर्दा तीन घण्टामा चंखेली हिमालको फेद पुग्न सकिन्छ ।  चंखेलीको फेददेखि दुईघण्टा पैदल यात्रा गर्दा चुचुरोमा पुगिन्छ । पछिल्लो समय प्रतिदिन चंखेली हिमालको प्रचार हुन थालेपछि रारा पुग्ने पर्यटकहरु चंखेलीसम्म पुग्ने गरेको छाँयानाथ रारा नगरपालिका १४ नम्बरका वडाध्यक्ष जुन बहादुर खड्का बताउँछन् ।

‘यस क्षेत्रको पर्यटन प्रर्बद्घनमा स्थानीय, प्रदेश र संघ सरकारले भौतिक पुर्वधार निर्माणमा सुधार गरेसँगै पर्यटकको संख्या विस्तारै बढ्न थालेको छ,’ वडाअध्यक्ष खड्काले भने । 
 रारा जाने पर्यटकलाई चंखेलीसम्म पुर्याउनेगरी प्याकेजहरु तयार गर्नसक्यो भने प्रचार प्रसारमा थप सहयोग पुग्ने पर्यटक कृष्ण बोहोरा बताउँछन् ।  

Photo (2).JPG

उनले भने, ‘यो हिमालको चुचुरोबाट सतिदेवीको अंग पतन भएको छायानाथ धाम स्पष्ट देखिनेरहेछ । रारा घुम्न आउने पर्यटक र पदयात्री मात्रै होइन धार्मिक पर्यटकलाई पनि चंखेलीको चुचुरोमा जान प्रोत्साहन गर्नुपर्छ । चुचुरोमा एक पटक पुग्नैपर्ने रहेछ, साह्रै मनोरम दृष्यावलोकन गरेँ मैले ।’

बाटोमा भेटिएका अर्का पदयात्री अक्कल बोहरा भन्छन्, ‘चंखेलीको धेरै कुरा सुनियो, गमगढी बजारबाट फोटो मात्र हेर्ने गरेको थिए । आफैँ दुई घण्टा पैदल हिँडेर चुचुरोमा पुग्दा यहीँबाट स्वर्ग देँखे झैं लाग्यो । विदेशी पर्यटकलाई यहाँ ल्याएर पर्यटन प्रचार गर्न जरुरी लाग्यो ।’

Photo (4).JPG

चंखेली हिमाला चुचुरोमा पुग्न विशेषगरी शनिबार जुम्ला, हुम्ला, मुगुकै विभिन्न स्थानीय युवाहरु बढी पुग्ने गरेको बताउँछन् स्थानीय होटल व्यावसायी दलसिंह बुढा ।