Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

२८ वर्ष पुरानो गोपीकृष्ण मुभिज हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फागुन १ गतेदेखि गोपीकृष्ण मुभिज बन्द हुने जानकारी दिएका हुन् ।

‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न नै’, विज्ञप्तीमा भनिएको छ ।

प्रबन्ध निर्देशक पौडेलले आजसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शक, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायहरु आभार व्यक्त गरेका छन् ।