विभागीय टिम त्रिभुवन आर्मी क्लब पहिलोपटक आहारारा पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको छ।
पोखरामा शनिबार भएको २३औँ आहा रारा गोल्डकपको फाइनलमा पाँचपटकको विजेता थ्रीस्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो। उपाधि लिन आर्मीले लामो प्रतीक्षा गर्नुपरेको छ।
जितका लागि जिलेप्सीजङ कार्कीले ३८औँ मिनेट, फत्तेमान घलेले ८३औँ मिनेट र वसन्त जिम्बाले दोस्रो हाफको इन्ज्युरी टाइममा गोल गरे। यसअघि २०७५ मा थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो।

त्यससमयका थ्रीस्टारको प्रशिक्षक मेघराज केसी अहिले आर्मीका प्रशिक्षक हुँदा उपाधि जिताउन सफल भए। उपाधिसँगै आर्मीले १२ लाख र उपविजेता थ्रीस्टारले ६ लाख रूपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
आर्मीका विमल पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान विद्युतीय स्कुटर पाए। प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका समित श्रेष्ठ, उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे, उत्कृष्ट मिडफिल्डर थ्रिस्टार क्लबका विवेक पौडेल, उत्कृष्ट फरवार्ड आर्मीका जिलेप्सीजङ कार्की तथा उत्कृष्ट प्रशिक्षक आर्मीका मेघराज केसी घोषित हुँदै उहाँहरुले जनही २५ हजार र ट्रफी पुरस्कार पाए।
प्रतियोगितामा सर्वाधिक तीन गोल गरेका आर्मीका दिनेश हेन्जनले नगद २५ हजार पुरस्कार पाए। जावलाखेल युवा क्लब प्रतियोगिताको ‘फेयर प्ले’ टोली घोषित भयो।