कसैको प्रिय हुन नसक्नु
पनि त आजाद हुनु हो !
किन बुझ्दैनन् ?
किन गुनासो पोकोपन्तुरो फुकाइरहन्छन ,
मान्छेहरु?
मान्छेदेखि हैरान भएर मान्छेहरु
पहाड जत्रो मन बोकेर
वैराज्ञताको श्रीपेच पहिरिएर
खोलाको तटतिर
टहल्लिरहेका हुन्छ्न्,
भौतारिरहेका हुन्छन् !
मनमोजी भई
फकिरी जीवनको गीत गाउदै
डाँडाकाँडा गुञ्जयमान
बनाइरहेका हुन्छन्, मान्छेहरू !
किन सोच्दैनन् मान्छेहरु,
किन सम्झिदैनन् मान्छेहरु,
कसैको प्रिय हुनु भनेको
बिग्रिनु हो, पुल्पुलिनु हो,
अप्ठ्यारा बाटोहरु
तय गर्न डराउनु हो,
हिम्मत,साहस बिलिन हुनु हो,
आफैले आफैलाइ बिर्सिनु हो !
कसैको प्रिय बन्नु भनेको
कसैलाइ प्रिय बनाउनु पनि हो,
प्रिय बन्नु र बनाउनु,
लिनु र दिनु साटफेर जस्तै हो
आफ्नो प्यारो आंफै हुनु
जिन्दगी हो, बाँकी दुनियां हो
दुनियांलाई खुसी पार्नु
बालुवामा पानी खन्याए जस्तै हो,
जिन्दगी सकाउनु हो
जिन्दगी टिकाइरहनु
जिन्दगी दुखाउनु हो
अनि त्यसपछिको
सफलता महशुश गर्नु हो !
जिन्दगी जिन्दगी जस्तै बनाउनु हो
कसैको अप्रिय हुनु आजाद हुनु हो !
-सिम्रन क्षेत्री
- नारायणगढ-१, चितवन