शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

नाट्य महोत्सवमा विमर्शः सामाजिक सञ्जाल कति जञ्जाल ?

नाट्य महोत्सवमा विमर्शः सामाजिक सञ्जाल कति जञ्जाल ?

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • नाट्य महोत्सवमा विमर्शः सामाजिक सञ्जाल कति जञ्जाल ?
     
    जनकपुरधाम, १९ माघ : बिहीबारदेखि जनकपुरधाम साहित्यिक कार्यक्रमले गुञ्जयमान भइरहेको छ । साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका विभिन्न विषयमाथि विमर्श, नाटक मञ्चन र सांस्कृतिक प्रस्तुतिका कारण जनकपुरधाम गञ्जयमान भएको हो । 
     
    पाँच दिवसीय यो महोत्सवमा सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रममा समावेश छन् । महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा हिन्दू तथा मुस्लिम धर्मावलम्बीका आस्था झल्किने प्रस्तुति तथा तामाङ सेलो र झिझियाजस्ता नृत्यले महेन्द्र नारायण निधि संस्कृति केन्द्रको प्राङ्गणमा सिङ्गो देशकै सास्कृतिकस्वरुप झल्काउने प्रयास भयो । सबैभन्दा रोचक त सधैँ घुम्टोमा देखिने मुस्लिम धर्मावलम्बी किशोरीले यही आगनीमा खुलारुपमा प्रस्तुति  दिँदा अतिथि तथा दर्शकदीर्घामा बसेकासमेत हर्षविभोर देखिन्थे । 
     
    कार्यक्रममा सहभागी  नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष मनिका झाले भने, “सम्भवतः पहिलोपटक यसरी साहित्यिक मञ्चमा मुस्लिम समुदायका दिदीबहिनीको आफ्नै संस्कृति झल्किने प्रस्तुति हेर्न पाउँदा खुसी लाग्यो ।” ‘नव घर उठ्य, पुरान घर...?’ शीर्षकको विमर्श पनि त्यस्तै रोचक थियो । सो सत्रमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टी नेत्री सोविता गौतम र पूर्वराजदूत विजयकान्त लाल कर्णका बहसले नेपालको राजनीतिक परिदृश्य, नयाँ दलहरुको उदय, पुराना दलहरुको स्थितिबारे चर्चा गरेको थियो । 
     
    यसैगरी अहिलेको चासो र चर्चाको विषय बनेको ‘सामाजिक सञ्जाल कि जञ्जाल’ माथिको विमर्शले धेरैलाई उत्साहित बनायो। सो सत्रका वक्ता थिए, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर र मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार रामभरोश कापडी ।   
     
    अध्यक्ष झाले सामाजिक सञ्जाल वर्तमान विश्वलाई भूमण्डलीकरण अर्थात् एउटा गाउँलाई विश्वग्राममा बदल्ने अवधरणालाई मूर्तरुप दिने माध्यमका रूपमा रहेको चर्चा गर्दै प्रयोगकर्ताको चेतना र बुझाइअनुसार यसको उपयोगिता निर्भर हुने बताए । सामाजिक सञ्जालको उत्पत्ति नै व्यक्ति, समाज र फरक विश्वलाई एउटा सञ्जालमा जोड्नका लागि भएको उल्लेख गर्दै उनले  त्यसलाई असामाजिक बनाउने प्रवृत्तिलाई भने निरुत्साहित गर्नु जरुरी रहेको धारणा व्यक्त गरे । 
     
    अध्यक्ष झाले भने, “सामाजिक सञ्जाल एउटा देश र एउटा भूगोलका मान्छेका लागि मात्रै नभई, फरक विश्व र परिवेशका मान्छेलाई समेत एकअर्कामा जोडेर विश्वग्रामलाई मूर्तरुप दिने यो एक सशक्त माध्यम हो । त्यसैले यसको बहस पनि एउटा सहर, एउटा देश वा परिवेशमा रहेर गर्दा अपूर्ण हुन्छ ।”
     
    सामाजिक सञ्जाल जञ्जाल भयो भन्ने बहस किन भइरहेको छ त भन्ने सञ्चालक स्नेहा झाको प्रश्नमा उनले बताए, “यसलाई प्रयोग गर्न जान्नेलाई निकै लाभदायी हुन्छ भने  प्रयोग गर्न नजान्नेलाई जञ्जाल हुनसक्छ ।” अनलाइन खबर डटकमका प्रधानसम्पादक  शिव गाउँलेले परम्परागत छलफलका माध्यम, चोक, चौतारा, चियापसल, कचहरी र भेला अहिले सामाजिक सञ्जालमा परिणत भएको र त्यसले नागरिकलाई आफ्ना कुरा निर्धक्क भन्न पाउने आधार दिएको धारणा व्यक्त गरे। 
     
    विश्लेषक चन्द्रकिशोरले लोप हुन लागेको ज्ञान र विमर्शको परम्परालाई सञ्जालले थोरै भए पनि जागृत गर्ने काम गरिरहेको बताए। साहित्यकार रामभरोस कापडीले सामाजिक सञ्जालमा राम्रा वा नराम्रा विचार, जानकारी, विषयवस्तु पनि उपलब्ध हुने भएकाले प्रयोगकर्ताले आफूलाई उपयोगी हुने सामग्री मात्रै ग्रहण गर्नुपर्नेमा जोड दिए ।  
     
    राति अबेरसम्म प्रस्तुत कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत उपेन्द्र यादव, योगेश भट्टराई, रामकुमारी झाक्री, सोविता गौतमलगायतले आयोजक मैथिली विकास कोष, प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको प्रशंसा गरेका थिए । 
     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार