Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शहीद दिवस:

भूपी शेरचनको कविता - शहीदहरूको सम्झनामा

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।

हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ! 

( २०१९ मा रचित यो कविता शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे- ०२६’ कवितासंग्रहबाट लिइएको हो ।)