Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मनको बिक्रेता

बेच्दिन मन बजारमा भन्छु
तर बजारमा खपत यसैको छ
नगद यसैमा छ
कहिले होसमा कहिले बेहोसमा, 
बिसाएँथें मनका भारीहरु 

खै केसँग साटेँ अनुभूतिहरु?
कसरी लहरिएँ मनका तरेलीहरुमा?
तनाव बिसाएर मनभरिका
कता हराए आत्माको चित्कारहरु?
आज ज्ञानी भएर हो या 
उसबेला दानी भएर? 
अहिले पो बेच्ने धुन चढेको छ यो मन

पहिले मूल्य थाह नभएर हो कि, 
दिन मन हुन्थ्यो 
आफ्नै जोश र जवानी 
जसले जे भनोस् 
म आज आफ्नै मनको बिक्रेता भएको छु 
जुन मनमा 
कहिले देशको सीमास्तम्भ उभिन्छ 
कहिले कुरीति र कुरुप प्रशासनले जर्जर
अस्थिर व्यवस्थापन दुख्छ
मनले कहिले 
देशको अर्थव्यवस्थाको निरीहता महसुस गर्छ 

कहिले 
असमान समाजव्यवस्था देखेर उद्वेलित हुन्छ
कहिले बिद्रोही हुने यो मन 
कहिले सुखद कल्पनाले पुलकित हुन्छ 
यी मनका भावावेशहरु 
एक एक गरेर बिक्रीमा राखेको छु 
बजारमा खरीदकर्ताको भीड छ 
स्टलमा रखिएका छन् हरेक मनहरु, 

दुःखी, सुखी,
उच, निच,
विवेकी, अज्ञानी 
पशुवत या मानवीय 
यस्तो बजारमा 
मेरो मनको बिक्री मूल्य कति होला?