Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

पोखरामा गुन्जिए अरुणा लामा र तारादेवीका गीत

पोखरामा कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीतहरु गाएका छन् । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा भएको अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८० मा दुवैका गीत गाइएका हुन् ।

अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर शनिबार कार्यक्रम गरिएको हो । स्रष्टा प्रकाश सायमीले नेपाली सुगम संगीत, कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको सुरु गरेका थिए । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरे ।

samjhana ma taradevi 3.jpg

पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंकेटमा भएको कार्यक्रममा हार्मोनीका कलाकारहरुले कालजयी गीत गाएर दुवै कलाकारको स्मरण गरे । करिब दुई घण्टासम्म चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष इतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो,’ तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा,’ कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य’ र तारादेवीको ‘फूलैफूलको मौसम तिमीलाई,’ रजनी रिदम राईले अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ,’ तारादेवीको ‘मनको निश्चलतामा,’ मितु पालले अरुणा लामाको ‘म त चुपचाप बसेँ’ र तारादेवीको ‘आमा भएर बोकि हेर’ गीत गाएका थिए ।

शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी’ र तारादेवीको ‘एक फूल झरेर के भो,’ अजुदा थापाले अरुणा लामाको ‘कलकल छलछल’ र तारादेवीको ‘आउ नआउ तिम्रो खुसी’ गीत गाए ।