–बलराम तिमल्सिना
अमेरिकी फ्रिडम पार्टीको
छायाँमा सुस्ताएर हेर्दा
तोसिमा र तोसिमाहरूलाई
हामी जङ्गली नै लाग्छ
हत्यारा नै लाग्छ
आतङ्ककारी नै लाग्छ
त्यो महान दश वर्ष
वर्वादीका वर्ष नै लाग्छ ।
भारतीय जनता पार्टीको
दाना पानी खाएर सोच्दा
ज्ञानेन्द्र शाहीहरूलाई
हामी देशद्रोही नै लाग्छ
हामी भयानक अपराधी नै लाग्छ
जनताका सर्वोत्तम छोराछोरीहरूले
रगत बगाएको महान दशक
देशद्रोहको दशक नै लाग्छ ।
कूलीन बर्ग र उच्च भनिएका
छाउरा छाउरीहरूलाई
मधेशीहरू
महिलाहरू
मासिन्याहरूले
राजनीतिको रङ्गमञ्चमा
मुस्कुराइ रहेको देख्दा
वाकवाकी नै लाग्छ
छटपटी नै चल्छ
झोंक मात्रै चल्छ ।
कहाँ बसेर हेर्छौ
कसको दाना पानी खाएर सोच्छौ
त्यसैमा भर पर्छ
हामी कस्ता देखिन्छौं ।
जसरी तिमीहरूलाई
हामी आतङ्ककारी लाग्छ
यो देशको माटोमा बसेर हेर्दा
तिमीहरू पनि
कोही भाजपाका
र कोही अमेरिकी फ्रिडम पार्टीका
वफादार कटप्पा लाग्छ ।