Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित  कार्यक्रममा वरिष्ठ मूर्तिकार मैनालीका लेखसङ्ग्रह ‘कलाका कुरा’, कवितासङ्ग्रह ‘मेरो कामना’ र ठाकुरप्रसाद मैनालीः सिर्जना र विवेचना’ कृति सार्वजनिक गरिएको हो।

 कलाकार मैनालीको व्यक्तित्व र कृतित्व सम्बन्धमा अन्य लेखकले चर्चा गरिएका लेख ‘सिर्जना र विवेचना’ कृतिमा समेटिएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग र नेपाली समसामयिक मूर्तिकार समुह ‘आरम्भ’ द्वारा संयुक्त रुपमा आयोजित  कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तमछाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्र थुम्केली, प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो र वरिष्ठ मूर्तिकार मैनालीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । कूलपति हार्तमछालीले मूर्तिकार मैनाली जिउँदो पुस्तकका रुपमा रहेको बताए । 

उनले मूर्तिकार मैनालीको व्यक्तित्व र कृतित्व नेपाली कला इतिहासमा उदाहरणीय रहेको चर्चा गर्दै उनका अनुभवलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक कार्य गरिरहेको बताए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलाका क्षेत्रमा योगदान पुर्‍याएको पुस्ताको बिरासतलाई जोगाएर लैजान नयाँ पुस्तालाई जोड्दै जान आवश्यक रहेको  चर्चा गरे । प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कला इतिहासका लागि मूर्तिकार मैनालीका पुस्तक दस्तावेजका रुपमा रहने र कलाका नयाँ पुस्ताका लागि बौद्धिक खुराक हुने बताए ।