Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

साहित्यकार सरुभक्तले तीसको दशकदेखि लेखेका मुक्तकहरू अब एउटै सङ्ग्रहमा

साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’ को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’ लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।

सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राखे । उनले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताए । साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताए ।

‘युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरुको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ’, उनले भने, ‘पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्वपूर्ण योगदान छ ।’

सरुभक्तले २०३५ सालमा प्रकाशित मुक्तक सङ्ग्रह ‘बन्द खामभित्र’ आफ्नो पहिलो साहित्यिक कृति रहेको सुनाए । उनको २०६१ सालमा ‘हजार बुद्धहरु’ र २०६७ मा ‘प्रेम यात्रा’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो । ‘सरुभक्तका मुक्तक’ मा पहिले प्रकाशित तीन मुक्तक कृतिसहित अप्रकाशित ‘जीवन यात्रा’ र ‘समय यात्रा’ कृतिका मुक्तक सङ्ग्रहित रहेको नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । ‘सरुभक्तले तीसको दशकदेखि हालसम्म रचना गर्नुभएका मुक्तक एउटै सङ्ग्रहका रुपमा सार्वजनिक गरिएको हो’, उनले भने ।