Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

भूकम्पबाट ३,७७० घर क्षति, जाजरकोटमा मात्रै ३,६०० घर भत्किए (तस्बिरहरु)

९३२ घर पूर्णरुपमा क्षतिग्रस्त

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ३,७७० भन्दा बढी घरमा क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको हो । 

HKC-Jajarkot-scaled.webp

उक्त भूकम्पले ९३२ घरमा पूर्ण र दुई हजार ८३८ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पश्चिम जिल्लामा पनि ठूलो क्षति गरेको भए पनि त्यहाँ के कति घरमा क्षति गरेको छ त्यसको विवरण यहाँ जोडिएको छैन । द्दरुकुम पश्चिममा क्षति भएका घरको विवरण संकलन गर्ने कार्य भइरहेको शाखाले जनाएको छ ।

Bhukampa-home-jajarkot-3-scaled.webp

शाखाका अनुसार जाजरकोटमा दुई हजार ६८५ घरमा आंशिक र ९०५ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वको १९, सल्यानको ९७, दाङको ६, प्युठानको २९ र नवलपरासी पूर्व र दैलेखका एक-एक घरमा आंक्षिक क्षति गरेको छ । यस्तै, भूकम्पले सल्यानको २५, दैलेखको एक र बैतडीको एक घरमा पूर्ण क्षति गरेको छ । शाखाको विवरणअनुसार हालसम्म भूकम्पपछि संरचना भत्किँदा १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । भूकम्पका कारण जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

Bhukampa-home-jajarkot-1-scaled.webp

भूकम्पले संरचना भत्काउँदा जाजरकोटमा ११२, रुकुम पश्चिममा १३२, सल्यानमा दुई, रोल्पामा एक, दैलेखमा तीन, बैतडीमा तीन र जुम्लामा तीनजना घाइते भएका छन् । भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा एक हजार ५६० जना सुरक्षाकर्मी परिचालन गरिएको शाखाले जनाएको छ ।

Bhukampa-home-jajarkot-4-scaled.webp

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सशस्त्र प्रहरी वलका ४८५, नेपाल प्रहरीका ८७४ र नेपाली सेनाका २०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै सुरक्षाकर्मी जाजरकोट र रुकुम पश्चिममा परिचालन गरिएको छ ।

Bhukampa-home-jajarkot-5-scaled.webp