Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

सांसद शाहीको पोष्टर रुखमा टाँस्दै सुर्खेतका नागरिकको प्रश्नः ठेकेदार ज्यू बाटो कहिले बन्छ?

दैलेख क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टर टासेर प्रश्न गरेका छन् । सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाही ज्यू बाटो कहिले बन्छ । 

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लामो समय भइसक्दा समेत बन्न नसकेपछि उनको व्यापक आलोचना हुन थालेको हो । गत वर्षको असारमा पूर्व सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तिको शिलान्यास गरेका थिए ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । यस विषयमा सांसद शाहीसँग प्रतिक्रिया लिन खोज्दा आफूलाई पोष्टर टासिएको विषयमा जानकारी नभएको बताए । ‘म अहिले यात्राको क्रममा बाटोमा छु, यो विषयमा बुझेर एक घण्टापछि खबर गर्छु’ उनले भने ।