गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्छन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपीन जोशी शनिबारदेखि सम्र्पकविहीन छन् । “शनिबार १२ बजेतिर भाईसँग सम्पर्क हुँदा खाना खाँदैछु भनेको थियो ।” विपिनका दाई किशोर जोशीले भने , “शनिबारपछि भाईसँग सम्पर्क हुन सकिरहेको छैन ।”
कृषि फार्ममा कार्यरत अन्य साथीहरुसँग सम्पर्क भए पनि विपीनसित भने सम्पर्क हुन सकिरहेको छैन । “विभिन्न माध्यमबाट प्रयास गर्न खोजे पनि विपीनसित सम्पर्क हुन सकिरहेको छैन”, जोशीले भने , “सरकारले यथाशिघ्र खोजी कार्य गरिदिनुप¥यो ।”
विपिनका आमावुवा दुवै शिक्षण पेशामा छन् । आमा पदमा जोशी बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा अध्यापनरत छिन् भने बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा पदमा र छोरी पुष्पा मात्रै महेन्द्रनगरस्थित भाषीमा बसोबास गर्छन् ।
इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले इजरायलको छ फार्ममा ४९ विद्यार्थी रहेको जानकारी प्राप्त भएको बताए ।
“टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी इजरायली राजदूतको समन्वयमा पठाएका थियाैँ”, रजिष्ट्रार पाठकले भने, “१७ जनाको समूह रहेको क्षेत्रमा आक्रमण हुँदा दुःखद् खबर सुन्नु परेको छ ।” इजरायलको किबुज अलुमिममा रहेका १० विद्यार्थीको निधन भएको छ । चार घाइते विद्यार्थी उपचाररत रहेका एक रोजगारदातासँग र अर्का एक विद्यार्थी प्रहरीसँग सुरक्षित छन् । विपिन भने हालसम्म सम्पर्कविहीन रहेको उनले बताए ।
“सुरक्षित स्थानमा रहेका विद्यार्थीले स्वदेश फर्किन चाहेका छन् । यसका लागि सरकारसँग समन्वय गरिराखेका छाँै”, रजिष्ट्रार पाठकले विश्वविद्यालयले सरकार र दूतावाससँग नियमित सम्पर्क गरिरहेको जानकारी दिँदै भने ।
सुदूरपश्चिम विश्वविद्यालयले गत भदौ अन्तिम साता कृषि सङ्कायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा गरी इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा ‘सेडट नेगेभ कलेज’सँगको सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका रजिष्ट्रार पाठकले बताए ।