Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्नु हुँदैनः सांसद शर्मा

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताएका छन् । शुक्रवार संसदमा विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यालय शिक्षा विधेयकमा संविधान सम्मत नभएका कुराहरु पनि कतिपय कुराहरु रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताए । उनले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताए ।

‘विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरु पनि कतिपय अवस्थामा छन् । यसमा सार्वभौम संसदले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ’ शर्माले भने, ‘यो देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले संशोधन गर्नुपर्ने छ । हाम्रो भविष्य कस्तो बनाउने ? हाम्रो देश कस्तो बनाउने, लोकतन्त्र, समाजवाद कस्तो बनाउने भन्ने प्रश्नसँग गाँसिएको हुँदा जनशक्ति, भोलिको कर्णधारहरुको लागि सक्षम जनशक्ति निर्माण गर्ने भएको हुँँदा यो विधेयकलाई दफावार छलफलमा पनि व्यवस्थित ढंगले लामो समय दिएर छलफल गर्नुपर्ने आवश्यकता छ । यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफलको आवश्यकता छ ।’

उनले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताए । उनले १२ कक्षा सम्मको विद्यालय शिक्षालाई कसरी एकरुपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘१२ कक्षा सम्मको विद्यालय शिक्षालाई कसरी एकरुपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? कसरी अहिलेको पाठ्यक्रम, शिक्षण विधिका कुरा र शिक्षकका सेवा सुविधाका प्रश्नमा सम्बोधन गर्ने र सबैले स्वीकार गर्ने कसरी बनाउने भन्नेकुरा महत्वपूर्ण छ’

सांसद शर्माले शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता रहेको बताए । ‘शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता छ’ शर्माले भने ।