Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागीपछि भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारीले जनाएका छन् ।बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए । दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको जानकारी दिए । उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अवैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए। डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी पुगेका थिए । नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो । त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन्।