Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

चोरेरै बनाए साढे ३ तले घर, जोडे करोडाैंको गाडी र जग्गा

काठमाडौंमा समातिएका एक जना चोरले चोरेरै साढे ३ तले घर, २ कठ्ठा जग्गा र गाडी जोडेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बाँकेका ४१ वर्षीय प्रेम थारू भन्ने व्यक्तिलाई केही समयअघि पक्राउ गरेको थियो।

उनीविरूद्ध अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत जिल्ला अदालतमा दर्ता भएको छ। साथै उनीविरूद्ध प्रहरीले चोरीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दर्ता गरेको हो।

उनी एक नामले मात्रै नभई अन्य विभिन्न नामले पनि परिचित छन्। उनले आफूलाई सुप्रिम विकास चौधरी र सौरभ चौधरीको नामले पनि चिनाउँने गरेको खुलेको छ ।

उनीमाथि बौद्धस्थित पाँच तले घरको तेस्रो तलामा चोरी गरेको र गत माघ २० गते दिउँसो एक करोड २१ लाख ६ हजार ८ सय रुपैयाँ मूल्य बराबरका गरगहना चोरी गरेको समेत आरोप छ। 

उनलाई प्रहरीले नागार्जुन रामकोटबाट गोली चलाएर नियन्त्रणमा लिएको थियो भने उनको दाहिने खुट्टामा गोली समेत लागेको थियो। प्रहरीले उनलाई माघ २१ गते नियन्त्रणमा लिएको थियो।

उनले करोडौं चोरी गरेको खुलेपछि प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान समेत अघि बढाएको थियो।

अनुसन्धानकै लागि प्रहरी बाँकेको राप्ती सोनारी-३ बेलासपुरस्थित घरमा समेत पुग्यो। त्यहाँबाट प्रहरीले विभिन्न विदेशी मुद्रा बरामद गरेको थियो।

त्यसैगरी बाँकेकै कोहलपुरस्थित चपरगौडीस्थित अर्को घरमा पनि प्रहरी पुगेको थियो। त्यहाँ उनको साढे ३ तले पक्की घर थियो। 

उनले लामो समयदेखि काठमाडौंका घरहरूमा कोही नभएको मौका छोपेर चोरी गर्ने गरेको स्वीकारेका छन्।

उनले अहिलेसम्म कति चोरी गरिसकेका छन् भन्ने आफैलाई थाहा नभएको पनि बयानमा भनेका छन्। चोरेरै उनले कोहलपुरमा ४० लाख बराबरको २ कठ्ठा जग्गा किनेर घर बनाएको पनि उनले बयान दिएका छन् । 

‘हालसम्म यति नै रकम चोरी गरे भन्ने मलाई यकिन भएन। चोरीका सुनचाँदीका गरगहना लगायत धनमालहरू बिक्री वितरण गरी प्राप्त रकमबाट बाँके कोहलपुर नगरपालिका-११ स्थित आज भन्दा करिब ५-७ वर्ष पहिले जम्मा ४० लाख रुपैयाँमा २ कठ्ठा जग्गा खरिद गरी सोही जग्गामा साढे ३ तले पक्की घर बनाएको छु। आज भन्दा करिब साढे ५ वर्ष पहिले ९८ लाखमा टोयोटा हाइलक्स गाडी खरिद गरेको थिएँ। बाँकी रकम मासी सकेँ। जम्मा छैन,’ उनले बयानमा भनेका छन्।

उनले किनेको उक्त गाडीलाई गत पुस १८ गते बुटवलका एक जना व्यक्तिलाई ५५ लाखमा बिक्री समेत गरेको बताएका छन्।

बाँकेमै उनको नाममा विभिन्न ठाउँमा जग्गा समेत देखिएको छ। उनले आफ्नो नाममा रहेका केही जग्गा पूर्ख्यौली भएको र त्यसबाहेक भने सबै चोरेको बताएका छन् ।

त्यस्तै उनको एउटा बैंकमा १५ लाख रुपैयाँ, अर्को बैंकमा साढे १ लाख रुपैयाँ बराबरको रकम देखिएको छ।

प्रहरीले उनको बैंक खातामा देखिएका रकम, सम्पत्ति र गाडी जफत गर्न समेत माग गरेको छ।