Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउन आयुक्त वाग्लेले प्रस्तुत गरे ५ ‘भोटिङ मोडेल’

प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सकिने पाँच सम्भावित मोडल प्रस्ताव गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा मंगलबार भइरहेको सुनुवाइका क्रममा प्रस्तुतीकरण गर्दै वाग्लेले आउट अफ कन्ट्री (ओभरसिज) भोटिङ का लागि अपनाउन सकिने पाँच ढाँचा प्रस्तुत गरेका हुन् ।

यस्ता छन् वाग्लेले प्रस्तुत गरेका मोटिङ मोडेल : 

१. मतपेटिकामा आधारित मतदान

विदेशस्थित नेपाली राजदूतावास वा तोकिएका कूटनीतिक निकायहरूमा मतदान केन्द्र स्थापना गरी भौतिक रूपमै मतपत्र र मतपेटिका प्रयोग गरेर मतदान गराउने वाग्लेले कार्ययोजनामा लेखेका छन् । यो विधि प्राविधिक रूपमा सजिलो र विश्वसनीय मानिने र अहिले ब्राजिल, फ्रान्स र मेक्सिको जस्ता देशहरूले प्रयोग गरिरहेका वाग्लेले उल्लेख गरेका छन् । 


२. हुलाकमार्फत मतदान

यस विधिअनुसार विदेशमा रहेका मतदाताको ठेगानामा हुलाकमार्फत मतपत्र पठाइन्छ । मतदाताले मतदान गरेर फिर्ता पठाएको मतपत्र मतगणनामा समावेश गरिन्छ । वाग्लेका अनुसार आफ्ना नागरिक विभिन्न देशमा छरिएर रहेका मुलुकका लागि यो प्रणाली उपयोगी मानिन्छ । कम लागतमा सञ्चालन गर्न सकिए पनि मतपत्र समयमै प्राप्त हुने र हुलाक सेवाको विश्वसनीयतामा यसको सफलता निर्भर रहने उनले बताए । बंगलादेशले हालै सम्पन्न निर्वाचनमा यो विधि प्रयोग गरेको तथा अष्ट्रेलिया, क्यानडा, जर्मनी र सिंगापुर लगायतका देशले पनि यसको अभ्यास गर्दै आएको उनले उल्लेख गरे ।

३. प्रतिनिधिमूलक मतदान

यस प्रणालीमा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न प्रतिनिधि तोक्न सक्छन् । तोकिएको प्रतिनिधिले सम्बन्धित मतदाताको तर्फबाट मतदान गर्ने व्यवस्था रहनेछ ।

४. इन्टरनेटमार्फत मतदान

वाग्लेले यसलाई प्राविधिक रूपमा उन्नत विधिको रूपमा प्रस्तुत गरे । उनका अनुसार यो प्रणाली लागू गर्न सके विदेशमा रहेका नेपाली मात्र होइन, अन्तरजिल्ला मतदानका लागि पनि उपयोगी हुन सक्छ । तर साइबर सुरक्षा, मतदानको निष्पक्षता तथा मतदाताले स्वतन्त्र रूपमा आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गरेको सुनिश्चित गर्ने जस्ता चुनौती भने रहने उनले बताए ।

५. मिश्रित (हाइब्रिड) मतदान विधि  

यस प्रणालीमा दुई वा दुईभन्दा बढी मतदान विधिको संयोजन गरिन्छ । मतदाताले आफ्नो सुविधाअनुसार विधि छनोट गर्न पाउने भएकाले विश्वव्यापी रूपमा यसको प्रयोग बढ्दो रहेको वाग्लेको भनाइ छ । अष्ट्रेलिया, डेनमार्क, इस्टोनिया, फ्रान्स र बेलायत लगायतका मुलुकमा मिश्रित मतदान प्रणालीको अभ्यास भइरहेको उनले जानकारी दिए ।

यी पाँचवटै सम्भावित ढाँचा प्रस्तुत गर्दै वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माण गर्नुपर्ने बताए । ‘सुरुवातमा मिश्रित विधि प्रणाली लागू गर्न सकिन्छ भन्ने मेरो धारणा रहेको छ,’ उनले संसदीय सुनुवाइ समितिमा भने ।