Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मल किन्न गएका नेपाली किसान भारतीय जेलमा, रिहाइ गर्न कांग्रेसको माग

मल लिन भारत गएका दुई जना नेपाली नागरिक भारतीय जेलमा रहेको भन्दै नेपाली कांग्रेसले रिहाइका लागि सरकारसँग माग गरेको छ। महामन्त्री प्रदीप पौडेलले आज विज्ञप्ति निकालेर ती दुवै जनाको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेका हुन्।

रासायनिक मल खरिदका लागि भारत गएका क्रममा भारतीय जेलमा रहेका नेपाली किसानहरूको शीघ्र रिहाइ तथा समस्या समाधानका लागि सरकारले अबिलम्ब कदम चालोस् विज्ञप्तिमा उल्लेख छ ।

सर्लाही बलराका दुई जना किसान “सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह” भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परी विगत २० दिनदेखि विहार, सीतामढी, डुमरास्थित भारतीय जेलमा रहेको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएका छन्।

त्यसपश्चात नेपाली कांग्रेसले परिवार र स्थानीय समुदायसँग समेत जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गर्‍यो। ति किसान दाजुभाइ आफ्नो खेतमा प्रयोग गर्नको लागि मल लिन जानुभएको रहेछ। किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।

यो प्रतिनिधिमुलक घटना हो। समयमै पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा बर्षौदेखि हाम्रा अन्नदाता किसानहरूले खेतीपातीको मौसममा सास्ती भोग्न बाध्य भएका छन्। मल आपूर्ति व्यवस्थापनको कमजोरी, योजनाको अभाव तथा प्रशासनिक असक्षमताको प्रत्यक्ष मार किसानमाथि नै परेको छ।

निश्चय नै किसानले मल नपाउने विषय यसपटकको मात्र समस्या होइन, सधैको समस्या बनेको छ, यसको तत्कालिक र दीर्घकालिन समाधानका लागि हामीले ठोस कदम चाल्न नसक्दा जहिले यो समस्या आउँछ।

नागरिकको संरक्षण र सुरक्षा राज्यको प्राथमिक दायित्व हो र हुनुपर्दछ। अत: ति नेपाली किसान कुनै व्यवसायिक लाभको लागि नभई केवल आफ्नो खेतीका लागि मलको जोहो गर्न गएका हुन र त्यसक्रममा पक्राउ परेकाले सरकारले उनीहरूको रिहाई एवं समस्या समाधानमा व्यबहारिक, कुटनीतिक र कानूनी प्रक्रियामार्फत तत्काल पहलकदमी लियोस्।­­­­

यसका लागि नेपाली कांग्रेस भारत सरकारसमक्ष पनि हार्दिक अनुरोध गर्दछ कि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखि, व्यावसायिक तस्करीमा संलग्न नभई केवल आफ्नो खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन हुन अनुरोध गर्दछौं।

साथै, नेपाल र भारतबीचको सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध मात्र नभई दुई देशका जनताबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको यथार्थलाई दुवै सरकारले आत्मसात् गर्दै यस्ता संवेदनशील विषयलाई सोही दृष्टिकोणबाट समाधान गर्न नेपाली कांग्रेस आग्रह गर्दछ।