Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय पात्रोमा चर्चित बनेको निट (NEET) प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर बढ्दो राजनीतिक दबाब र देशव्यापी विरोध प्रदर्शनबीच उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताएका छन्।

प्रधानले सामाजिक सञ्जाल एक्स (X) मार्फत आफ्नो राजीनामाबारे जानकारी दिँदै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गरेर उक्त निर्णय लिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, "जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु।"

शिक्षामन्त्री प्रधानविरुद्ध करिब एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (CJP) को नेतृत्वमा प्रदर्शन हुँदै आएको थियो। प्रदर्शनकारीहरूले निट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणको नैतिक जिम्मेवारी लिँदै प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

यसैबीच, भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै सरकारमाथि दबाब बढाउँदै आएका थिए।

निट पेपर लिक प्रकरण सार्वजनिक भएपछि भारतका विभिन्न राज्यमा व्यापक विरोध प्रदर्शन भएका थिए। परीक्षाको निष्पक्षता, लाखौं विद्यार्थीको भविष्य र शिक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठेपछि यो मुद्दाले राष्ट्रिय राजनीतिक बहसको रूप लिएको थियो।