Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

जर्मनीको मुख्य प्रशिक्षक बने जर्गेन क्लोप

जर्मनीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा जर्गेन क्लोप नियुक्त भएका छन् । जर्मन फुटबल संघले क्लोपसँग सन् २०३० सम्मका लागि क्लोपसँग सम्झौता गरेको हो ।

विश्वकपपछि प्रशिक्षक जुलियन नागेल्समनको बिदाइसँगै जर्मन टोलीले नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ । 

लिभरपुलबाट बिदा भएपछि केही समय विश्राम लिएका क्लोप अब पुनः प्रशिक्षणमा फर्किएका हुन् । ५९ वर्षीय क्लोपलाई विश्व फुटबलका उत्कृष्ट प्रशिक्षकमध्ये एक मानिन्छ । उनले बोरुसिया डर्टमुन्ड र लिभरपुलमा उल्लेखनीय सफलता हासिल गरेका थिए । लिभरपुललाई उनले युरोपेली च्याम्पियन्स लिग र इङ्ग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

हालका वर्षहरूमा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको जर्मन टोलीलाई पुनर्निर्माण गर्दै विश्व फुटबलको अग्रस्थानमा फर्काउने जिम्मेवारी क्लोपलाई दिइएको जर्मन फुटबल संघको विश्वास छ ।

क्लोपले आफ्नो कार्यकालको सुरुआत युरोपेली राष्ट्र लिग र सन् २०३० को विश्वकप छनोटको तयारीबाट गर्नेछन् । उनले उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्ने बलियो टोली निर्माणलाई प्राथमिकता दिने बताइएको छ ।

पत्रकार सम्मेलनमा क्लोपले आफ्नो रणनीति, भावी योजना तथा प्रशिक्षण टोली सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । जर्मन फुटबल संघले यो दीर्घकालीन योजनामार्फत जर्मनीलाई पुनः युरोपेली तथा विश्व फुटबलको शीर्ष स्थानमा पुर्‍याउने लक्ष्य राखेको छ ।