साउन महिनालाई हरियालीको महिना पनि भन्ने गरिन्छ । यो महिनामा हरियो चुरा, हरियो पोते, हरियो लुगा र हातमा मेहन्दी लगाउने चलन छ । खासगरी साउनलाई पवित्र महिनाका रूपमा समेत लिने सनातन परम्परा छ ।
साउन सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार अघिल्लो वर्षको तुलनामा यस वर्ष घटेको इन्द्रचोकका व्यापारीहरुको गुनासो छ ।
सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम भएपनि यस वर्ष बजारमा चुरापोते र मेहन्दीको व्यापार घटेको उनीहरुको भनाई छ ।
नेपाल न्यूज बैंकको कुराकानीमा इन्द्रचोकस्थित पोते बजारका व्यवसायीहरूले व्यापारको स्वरूप परिवर्तन हुँदै गएको बताए । बजारमा पहिलेजस्तो भीडभाड नदेखिए पनि गुणस्तरीय सामान खोज्ने ग्राहक आउनेक्रम भने कायम रहेको उनीहरूको भनाइ छ । साथै, अनलाइन कारोबार बढ्दै जाँदा व्यापार गर्ने शैली पनि परिवर्तन भएको उनीहरूले बताएका छन् ।
करिब १२–१३ वर्षदेखि पारिवारिक रूपमा पोते व्यापार गर्दै आएका व्यवसायी काली मुदिनका अनुसार इन्द्रचोकमा पहिलेजस्तो भीड नदेखिए पनि व्यापार सन्तोषजनक छ । उनका अनुसार अहिले धेरै कारोबार अनलाइनमार्फत हुने भएकाले बजारमा ग्राहकको चहलपहल कम देखिए पनि व्यापार भने निरन्तर भइरहेको छ ।
उनले भने, ‘मैले गर्न थालेको चाहिँ १२–१३ वर्ष भयो । मेरो यो फेमिली बिजनेस नै हो। पहिला हाम्रो दाइभाइहरूले त्यति पोतेको व्यापार गर्दैन थिए । अब अहिले धेरै ठाउँमा पोतेको वयापार गरिरहेका छन् ।’
उनले पछिल्ला वर्षहरूमा नेपाली समुदायमा पनि पोते लगाउने चलन बढ्दै गएको बताए । इन्द्रचोकमा पोते, चुरालगायतका सामग्रीको छुट्टाछुट्टै व्यापारिक क्षेत्र विकास भएको उल्लेख गर्दै उनले नयाँ डिजाइनका सामग्रीप्रति ग्राहकको आकर्षण बढिरहेको बताए ।
उनले भने, ‘व्यापार राम्रै भइरहेको छ । पहिला जस्तो भीड त हुँदैन । व्यापार चाहिँ राम्रो छ । डिजिटल व्यापार भएकाले पनि अनलाइनमार्फत पनि पठाउँछौं । तर ग्राहकहरु क्वालिटी खोज्नका लागि इन्द्रचोक आउने गर्छन ।
मुदिनका अनुसार इन्द्रचोकमा बिक्री हुने पोतेका सामग्री मुख्यतः चेक रिपब्लिक, जापान र चीनबाट आयात हुन्छन् । ग्राहकको आवश्यकता र मूल्यअनुसार सस्तोदेखि महँगासम्मका सामग्री उपलब्ध हुने उनको भनाइ छ । सुनका गरगहनासँग प्रयोग हुने भएकाले धेरै ग्राहक गुणस्तरीय पोते खोज्दै इन्द्रचोक आउने उनले बताए ।
उनका अनुसार पोते तथा मालाको मूल्य डिजाइन, कलात्मकता र उत्पादन प्रक्रियाअनुसार फरक–फरक हुन्छ । सामान्य डिजाइनका माला २०–५० रुपैयाँदेखि उपलब्ध भए पनि हस्तकलायुक्त तथा विशेष डिजाइनका सामग्री महँगा पर्ने उनले बताए ।
मुदिनले दशैंको समयमा सबैभन्दा बढी व्यापार हुने जानकारी दिए । उनका अनुसार तीजमा रातो तथा हरियो पोते, साउनमा विशेष डिजाइनका माला र विवाहको लगनमा पनि व्यापार बढ्ने गर्छ । वर्षभरमध्ये दुई–तीन महिना मात्र अफसिजन रहने उनको भनाइ छ ।
यता, इन्द्रचोककै अर्की व्यवसायी ज्ञानु मोक्तानले भने पछिल्लो समय व्यापारमा उल्लेखनीय गिरावट आएको बताइन् । उनका अनुसार पहिलेको तुलनामा ग्राहकको संख्या निकै घटेको छ ।
मोक्तानले आर्थिक मन्दी, भारतबाट सामान आयातमा आएको कमी तथा अनलाइन व्यापारको विस्तारले परम्परागत पसलहरू प्रभावित भएको बताइन् । उनका अनुसार ग्राहकलाई घरमै सामान पुर्याउने अनलाइन सेवाका कारण भौतिक पसलमा आउने ग्राहक घटेका छन् । आफूहरूको अनलाइन कारोबारको व्यवस्था नभएकाले त्यसको प्रत्यक्ष असर व्यापारमा परेको उनको भनाइ छ ।
उनले भनिन्, ‘एकदमै कम व्यापार भइरहेको छ । यसपालि अझ धेरै कम छ । आर्थिक मन्दी भएको हो कि, नयाँ सिस्टमले हो कि, अन्योलता छ । सामान पनि खासै आएको छैन् । खास पसलहरूमा बिजनेस नहुनुमा अनलाइनले गर्दा पनि होला । घर–घरमै पुर्याउने प्रचलन पनि छ ।’
उनले अहिले सबै उमेर समूहका ग्राहक आउने गरे पनि पहिलेजस्तो किनमेल नहुने बताइन् । कतिपय ग्राहकले पूरानै चुरा प्रयोग गर्ने भएकाले नयाँ खरिद घटेको उनको अनुभव छ ।
चुरा महिलाले नियमित रूपमा प्रयोग गर्ने सामग्री भएकाले वर्षभर केही न केही व्यापार भइरहे पनि अघिल्ला वर्षहरूको तुलनामा कारोबार उल्लेखनीय रूपमा घटेको उनले बताइन् ।
यसैगरी इन्द्रचोकका अर्का व्यवसायी शिवकुमार गौतमले पनि पछिल्ला तीनदेखि चार वर्षयता पोते तथा चुराको व्यापार निरन्तर ओरालो लागेको बताए । उनका अनुसार बजारमा ग्राहकको चहलपहल अत्यन्तै घटेकाले दैनिक खर्च धान्नसमेत कठिन हुन थालेको छ ।
करिब १५ वर्षदेखि पारिवारिक व्यवसायमा संलग्न गौतमका अनुसार अहिलेको व्यापार अघिल्ला वर्षहरूको तुलनामा निकै कमजोर अवस्थामा पुगेको छ । दैनिक नुन–तेलको खर्च धान्न मात्र पुग्ने आम्दानी भइरहेको भन्दै उनले पसलको भाडा तिर्नसमेत समस्या भइरहेको बताए ।
उनका अनुसार कोरोना महामारीपछि केही समय व्यापारमा सुधार देखिएपनि त्यसयता बजार क्रमशः सुनसान बन्दै गएको छ । आर्थिक मन्दी, बजारमा देखिएको नगद अभाव तथा बढ्दो महँगीका कारण उपभोक्ताको क्रयशक्ति कमजोर हुँदा व्यापारमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
गौतमले सामानको मूल्य बढेपनि ग्राहकको संख्या भने नबढेको बताए । उनले पछिल्लो समय उपभोक्ता अनलाइनमार्फत किनमेल गर्न आकर्षित भएकाले परम्परागत पसलको व्यापार थप प्रभावित भएको उल्लेख गर्दै अब आफूहरू पनि अनलाइन कारोबारतर्फ जानुपर्ने आवश्यकता महसुस भएको बताए ।
राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ ।
इन्द्रचोकको पोते तथा चुरा बजारमा ग्राहकको चहलपहल अघिल्ला वर्षहरूको तुलनामा केही कम देखिए पनि किनमेलका लागि आउने उपभोक्ताको रोजाइ भने अझै पनि गुणस्तरीय सामग्रीमै केन्द्रित देखिन्छ । बजारमा पुग्ने ग्राहकहरू मूल्य वृद्धि भए पनि संस्कार, परम्परा र गुणस्तरलाई प्राथमिकता दिएर सामग्री खरिद गर्ने गरेको बताउँछन् ।

पोते तथा चुरा खरिद गर्न इन्द्रचोक पुगेकी बिमला रामदामका अनुसार अहिले बजारमा उपलब्ध सामग्रीको गुणस्तरप्रति आफू सन्तुष्ट छिन् । उनका अनुसार सामानको छनोट व्यक्तिको सोच र रुचिअनुसार फरक–फरक हुने भए पनि नेपाली समाजमा पोते र चुरा फेसनका सामग्री मात्र नभई धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका बताइन् ।
हिन्दु संस्कारअनुसार विवाहित महिलाले पोते र चुरा लगाउने चलन रहेकाले यसको प्रयोग निरन्तर रहँदै आएको उनको भनाइ छ । उनले बजारमा नयाँ डिजाइनसँगै गुणस्तरीय सामग्रीको माग बढिरहेको बताइन् ।
यस्तै, अर्की ग्राहक मिना बराइलीले भने पछिल्लो समय पोते तथा चुराको मूल्य बढेको अनुभव सुनाइन् । उनका अनुसार व्यापारीहरूले चीनको मुद्रा विनिमय दर (करन्सी) बढेका कारण आयातित सामग्रीको मूल्य वृद्धि भएको जानकारी दिएका छन् त्यसकै प्रभाव उपभोक्ताले तिर्नुपर्ने मूल्यमा परेको उनको भनाइ छ ।
बराइलीका अनुसार नेपाली समाजमा पोते र चुरा फेसनभन्दा पनि संस्कार र धार्मिक परम्पराको प्रतीकका रूपमा प्रयोग गरिन्छ । विदेशीहरूले रहरका लागि प्रयोग गरे पनि नेपाली महिलाले हिन्दु संस्कार र सामाजिक मान्यताअनुसार पोते तथा चुरा लगाउने परम्परा आज पनि कायम रहेको उनले बताइन् ।
हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरुले पहेँलो वस्त्र लगाउने गर्छन् ।