प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्यसमेत रहेकी सांसद खुश्बु ओलीबिच भेटवार्ता भएको छ । उक्त भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो ।
‘प्रधानमन्त्रीज्यूसँग करिब १ घण्टा छलफल भयो । हामीले किसानले मल नपाएको कुरा, सुकुमवासी व्यवस्थापनको समस्या, स्वास्थ्य बीमाको कारण जनताले भोगेका पीडा र गुनासोको विषय राख्याैँ ’ छलफलमा सहभागी सांसद ओलीले भनिन् ।'
प्रधानमन्त्रीले सबै कामहरूको सुरुवात भइरहेको र छिटै टुंगोमा पनि पुग्ने आश्वासन दिएको ओलीले बताइन् ।
‘प्रधानमन्त्रीले सबै कुराहरू जारी रहेको बताउनुभयो । मल आयात हुँदै गरेको पनि उहाँले जानकारी गराउनुभयो । स्वास्थ्य बीमाको विषयमा पहिलेको भुक्तानी बाँकी रहेको र केही निजी अस्पतालले बदमासी गरेकाले त्यसलाई सच्याएर पुन: लागू गर्ने गरी तयारी भइरहेको छ भन्नुभयो,’ छलफलमा प्रधानमन्त्रीले भनेको बारे उनले थपिन्, ‘सुकुमवासीलाई राखेको होल्डिङ सेन्टरमा अन्यत्र गाह्रो छैन । कीर्तिपुरकोमा समस्या आइपर्यो भन्नुभयो । समग्र सुकुमवासीकै माग सम्बोधन गर्दैछौं पनि भन्नुभयो ।’
उनले संविधान संशोधनको विषयमा सबै जनताको गुनासो सम्बोधन हुने गरी काम हुने आश्वासन प्रधानमन्त्रीले दिएको पनि बताइन् ।