Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमालेको आपत्ति

नेकपा एमालेले विभिन्न सञ्चारगृहका कार्यालय अगाडि शंकास्पद रूपमा सवारी साधन राखेर पत्रकार तथा सञ्चारकर्मीलाई त्रसित बनाइएको भन्दै आपत्ति जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सञ्चारकर्मीलाई आतंकित पार्ने उद्देश्यले कार्यालय अगाडि गाडी राखिएको भन्दै घटनाको विरोध गरेका हुन् ।

उनले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मुख्य प्रवेशद्वारमै शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी पत्रकार तथा कर्मचारीको आवतजावतमा अवरोध सिर्जना गरिएको बताएका छन् ।

सोमबार बिहानदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारको आवतजावत रोक्ने प्रयास गरिएको छ ।

एमालेले यस्तो कार्यलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको जनाएको छ। स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उसको भनाइ छ ।

सञ्चारगृह र पत्रकारलाई भयभीत बनाउने तथा काममा अवरोध पुर्‍याउने उक्त घटनाको एमालेले निन्दा र भर्त्सना गरेको छ । यस विषयमा नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति पूर्ण समर्थन रहेको पनि एमालेले जनाएको छ ।