Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

विश्वकपको उपाधि दौडमा अन्तिम आठ देश- कसको सम्भावना कति बलियो ?

जारी फिफा विश्वकप फुटबल अब निर्णायक चरणमा प्रवेश गरेको छ । ९६ खेलपछि अब केवल आठ टोली मात्रै उपाधिको दौडमा बाँकी छन् । तीमध्ये अर्जेन्टिना, इङ्ल्यान्ड, फ्रान्स र स्पेन यसअघि विश्वविजेता बनिसकेका राष्ट्र हुन् भने नर्वे, मोरक्को, स्विट्जरल्यान्ड र बेल्जियम पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित अघि बढिरहेका छन् ।

यसपटकको क्वार्टरफाइनलमा युरोपको वर्चस्व स्पष्ट देखिएको छ । अन्तिम आठमध्ये पाँच टोली युरोपका छन् भने दक्षिण अमेरिकाबाट अर्जेन्टिना मात्रै बाँकी रहेको छ । सन् २००२ पछि पहिलो पटक दक्षिण अमेरिकी फुटबल महासंघबाट केवल एक टोली क्वार्टरफाइनलमा पुगेको हो । अफ्रिकाका तर्फबाट मोरक्कोले लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनल पुग्दै नयाँ इतिहास बनाएको छ । विश्वकप इतिहासमा लगातार दुई पटक अन्तिम आठमा पुग्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

चार वर्षअघिको विश्वकपबाट फ्रान्स, इङ्ल्यान्ड, अर्जेन्टिना र मोरक्कोले पुनः क्वार्टरफाइनल यात्रा दोहोर्याएका छन् । फ्रान्स लगातार चौथो विश्वकपमा अन्तिम आठमा पुगेको हो भने इङ्ल्यान्ड लगातार तेस्रो पटक क्वार्टरफाइनलमा पुगेको छ ।

विश्लेषकहरूले टोलीको वर्तमान प्रदर्शन, खेलाडीको क्षमता, रणनीतिक सन्तुलन र फाइनलसम्म पुग्ने सम्भावित यात्रालाई आधार मानेर उपाधि सम्भावनाको मूल्याङ्कन गरेका छन् ।

फ्रान्स : सबैभन्दा बलियो उपाधि दाबेदार

फ्रान्सलाई अहिले पनि विश्वकप जित्ने सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ । अन्तिम १६ मा पाराग्वेमाथि १-० को सामान्य जित निकाले पनि खेलमा उसको पूर्ण नियन्त्रण देखिएको थियो । फ्रान्सले खेलभर ७५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्यो । उसले १५ प्रहार गर्दा पाराग्वेले केवल पाँच प्रहार गर्न सक्यो । पेनाल्टीबाहेक खुलेआम अवसरबाट धेरै गोल सिर्जना गर्न नसके पनि विश्लेषकहरूका अनुसार पाराग्वेले अत्यन्तै रक्षात्मक खेल खेलेकाले फ्रान्सलाई अवसर बनाउन कठिन भएको थियो ।

किलियन एम्बाप्पे, माइकल ओलिज, उस्मान डेम्बेले र अग्रपंक्तिका अन्य खेलाडीले कुनै पनि टोलीविरुद्ध धेरै गोल गर्न सक्ने क्षमता राख्ने भएकाले फ्रान्सलाई अझै पनि सबैभन्दा खतरनाक टोली मानिएको छ । मध्यपङ्क्तिमा स्पेनजस्तो टोलीसँग चुनौती आउन सक्ने भए पनि समग्र रूपमा फ्रान्सको टोली सबैभन्दा सन्तुलित मानिएको छ ।

स्पेन : अभेद्य रक्षाले बनाएको उपाधिको बलियो दाबेदार

स्पेनले अन्तिम १६ मा पोर्चुगललाई इन्जुरी समयमा गरेको गोलबाट १-० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गर्‍यो । पोर्चुगलविरुद्ध स्पेनले प्रतियोगितामा पहिलो पटक अपेक्षाकृत कम अर्थात् ५५ प्रतिशत बल नियन्त्रण राखे पनि गोल गर्ने अवसर भने उसैले बढी सिर्जना गर्‍यो । स्पेन यस विश्वकपमा अहिलेसम्म गोल नखाने एकमात्र टोली हो । उसले प्रतियोगिताभर केवल २९ प्रहारको सामना गरेको छ, जुन नकआउट चरणमा पुगेका टोलीमध्ये दोस्रो न्यून हो । विपक्षीलाई उच्च गुणस्तरको अवसर नै नदिनु स्पेनको सबैभन्दा ठूलो बल मानिएको छ ।

यमाल फर्किएपछि स्पेनको आक्रमण केही प्रभावकारी बनेको छ । यद्यपि अर्को विङमा निको विलियम्सको अनुपस्थितिले आक्रमण पूर्ण सन्तुलित बन्न सकेको छैन । यदि फ्रान्स अर्को समूहमा परेको भए स्पेनलाई शीर्ष स्थानमा राख्न सकिने विश्लेषण भए पनि सम्भावित सेमिफाइनलमा फ्रान्ससँगको भिडन्तका कारण स्पेन दोस्रो स्थानमा राखिएको छ ।

अर्जेन्टिना : च्याम्पियनको आत्मविश्वास अझै कायम

उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अपेक्षाभन्दा कठिन बाटो पार गर्दै क्वार्टरफाइनल पुगेको छ । उसले केप भर्डेलाई अतिरिक्त समयमा हराएको थियो भने अन्तिम १६ मा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै ३-२ को जित निकालेको थियो । विश्वकप इतिहासमै अन्तिम १५ मिनेट बाँकी रहँदा दुई गोलले पछि परेको अवस्थाबाट निर्धारित समयमै जित निकाल्ने पहिलो टोली अर्जेन्टिना बनेको छ । इजिप्टको दोस्रो गोलपछि मात्र अर्जेन्टिनाले आठ प्रहार गर्दै लगातार दबाब सिर्जना गरेको थियो ।

लियोनेल मेसीको नेतृत्व, ठूला खेल जित्ने अनुभव र निर्णायक क्षणमा खेल पल्टाउने खेलाडीहरूको उपस्थितिले अर्जेन्टिनालाई अझै पनि प्रमुख दाबेदार बनाएको छ । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्ने भएकाले उसको फाइनलसम्मको यात्रा तुलनात्मक रूपमा सहज देखिएको छ ।

इङ्ल्यान्ड : कठिन परिस्थितिमा पनि अनुशासित प्रदर्शन

इङ्ल्यान्डले मेक्सिकोलाई ३-२ ले हराएर लगातार तेस्रो विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । जारेल क्वान्साहले रातो कार्ड पाएपछि प्रशिक्षक थोमस टुचेलले समयमै गरेको परिवर्तन निर्णायक बन्यो । मेक्सिकोले पेनाल्टीबाहेक १९ प्रहार गरे पनि तीमध्ये अधिकांश टाढाबाट आएका थिए र स्पष्ट अवसरमा परिणत हुन सकेनन् । इङ्ल्यान्डको रक्षात्मक अनुशासन प्रशंसनीय देखिए पनि बलियो रक्षात्मक टोलीविरुद्ध गोल निकाल्ने क्षमतामा अझै प्रश्न बाँकी रहेको विश्लेषण गरिएको छ । क्वार्टरफाइनलमा नर्वेविरुद्धको खेल उसलाई निकै कठिन हुने अनुमान गरिएको छ । 

नर्वे : हालान्डको गोल वर्षाले बढेको आशा

नर्वे यस विश्वकपको सबैभन्दा ठूलो आश्चर्यजनक टोलीमध्ये एक बनेको छ । उसले अन्तिम १६ मा ब्राजिललाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । खेलको अन्त्यतिर नेइमारले पेनाल्टीबाट एक गोल फर्काए पनि त्यसअघि नर्वेले खेलमा पूर्ण नियन्त्रण कायम राखेको थियो ।

इर्लिङ हालान्डले चार खेलमा चार निर्णायक गोल गरेका छन् । प्रतियोगितामा नर्वेले गरेका १२ गोलमध्ये सात गोल हालान्डकै नाममा छन् । कप्तान मार्टिन ओडेगार्डसँग मिलेर उनले नर्वेको आक्रमणलाई निकै खतरनाक बनाएका छन् । इङ्ल्यान्डविरुद्ध बल कम भए पनि तीव्र प्रतिआक्रमणमार्फत नर्वेले अर्को उलटफेर गर्न सक्ने सम्भावना विश्लेषकहरूले औँल्याएका छन् ।

मोरक्को : अफ्रिकी फुटबलको नयाँ शक्ति

मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले हराउँदै लगातार दोस्रो विश्वकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो । पहिलो हाफमा क्यानडाले दबाब बनाए पनि मोरक्कोले उसलाई केवल चार प्रहारमा सीमित राख्यो । अन्तिम १० मिनेटमा दुई थप गोल गर्दै मोरक्कोले सहज जित निकालेको थियो ।

सन् २०२२ को टोलीभन्दा अहिलेको मोरक्को अझ बलियो मानिएको छ । यद्यपि सेमिफाइनल पुग्न फ्रान्सलाई र त्यसपछि सम्भवतः स्पेनलाई हराउनुपर्ने भएकाले उसको उपाधि यात्रा सबैभन्दा कठिनमध्ये एक मानिएको छ ।

स्विट्जरल्यान्ड: ७२ वर्षपछि ऐतिहासिक उपलब्धि

लगातार तीन विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्विट्जरल्यान्डले यसपटक ७२ वर्षपछि पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको छ । उसले अल्जेरियालाई सहज रूपमा हरायो भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इतिहास रच्यो । २० वर्षीय युवा खेलाडी योहान मान्जाम्बी टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन् । उनले यस विश्वकपमा तीन गोल र दुई गोलका अवसर सिर्जना गरेका छन् । सन् १९६६ यताकै विश्वकप इतिहासमा २० वर्षको उमेरमै पाँच गोलमा प्रत्यक्ष योगदान गर्ने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घुँडाको चोटका कारण उनी पूर्ण रूपमा फिट नभए स्विट्जरल्यान्डको आक्रमण कमजोर हुने विश्लेषण गरिएको छ ।

बेल्जियम : प्रतिभा प्रशस्त, तर चुनौती अझ कठिन

बेल्जियमले अन्तिम १६ मा अमेरिकालाई ४-१ ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्‍यो । चार गोल गर्दै उसले अन्तिम १६ चरणमा सबैभन्दा ठूलो जित निकाल्ने टोली बन्यो । मुख्य प्रशिक्षक रुडी गार्सियाले सुरुआती रोजाइमै केही चर्चित खेलाडीलाई विश्राम दिए पनि टोलीको प्रदर्शनमा कुनै असर देखिएन। मध्यपङ्क्तिमा अमाडु ओनानाले उत्कृष्ट खेल प्रदर्शन गरे पनि खेलकै क्रममा घुँडाको गम्भीर चोट बोकेपछि उनी बाँकी विश्वकपबाट बाहिरिएका छन् । ओनानाको अनुपस्थितिले स्पेनजस्तो उच्च दबाबमा खेल्ने टोलीविरुद्ध बेल्जियमलाई ठूलो क्षति पुग्ने अनुमान गरिएको छ ।

प्रतिभाशाली खेलाडीहरूको उपस्थिति भए पनि स्पेन र त्यसपछि सम्भावित रूपमा फ्रान्सजस्ता टोलीलाई हराएर उपाधिसम्म पुग्ने बाटो अत्यन्त कठिन भएकाले बेल्जियमलाई उपाधिको सबैभन्दा कमजोर दाबेदार मानिएको छ ।