Jul 06 2026

Jul 06 2026 | सोमवार, आषाढ २२ गते २०८३

असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : मन्त्री सोविता गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्काल निर्माण गर्नुपर्ने कानुनको प्राथमिकता निर्धारण गरी यही असार मसान्तभित्रै सम्बन्धित विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरिने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले अत्यावश्यक कानुनको सूची तय गर्ने काम भइरहेको बताइन् । 

सांसदहरुले कानुनी सुधारलाई समयसीमाभित्र सम्पन्न गर्नुपर्ने, असान्दर्भिक कानुनको खारेजी र संशोधनमा तीव्रता दिनुपर्र्ने, डिजिटल कानुनी सेवा विस्तार गर्नुपर्ने, सरकारी मुद्दा व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने तथा न्यायाधीशको क्षमता विकास गर्नुपर्नेलगायत जिज्ञासा राखेकी थिइन् ।

मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने गरी सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरिन् । 

मन्त्री गौतमले सङ्क्रमणकालीन न्यायसँग जोडिएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि अत्यावश्यक बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

विनियोजित बजेटको सीमाभित्र रही मन्त्रालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आवश्यक कानुन निर्माणका लागि प्राथमिकतासहित संसद्मा पेस गर्ने कार्ययोजना तय गरिने उल्लेख गरिन् । 

मन्त्री गौतमले पीडितको परिपूरणका लागि नेपाल सरकारले नियमावली बनाई छुट्टै कोष स्थापना गरेको स्पष्ट पारिन्। 

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८३’ र ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग नियमावली, २०८३’ को मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिइन् ।