Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

सूर्यवंशीको ऐतिहासिक डेभ्यु खेलमा भारत पराजित, इङल्याण्ड ४ विकेटले विजयी

इंग्ल्यान्डले पाँच खेलको टी- २० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा भारतलाई चार विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण पहिलो खेल रद्द भएकाले यो सिरिजको पहिलो निर्णय भएको खेल थियो।

१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमै ६ विकेट गुमाएर जित हात पारेको थियो । भारत पराजित भए पनि खेलमा दुई ऐतिहासिक उपलब्धि बने । अक्षर पटेल टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने पहिलो भारतीय स्पिनर बने भने १५ वर्षीय वैभव सूर्यवंशी भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी बने ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १९० रन बनाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका वैभव सूर्यवंशीले सुरुमै दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे पनि १४ रनमा स्टम्प आउट भएका थिए ।

त्यसपछि अभिषेक शर्माले २४ बलमा ४३ रनको तीव्र इनिङ्स खेले । मध्यक्रममा श्रेयस अय्यरले ३७ तथा ईशान किशनले ४९ रन बनाउँदै तेस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । अन्तिम ओभरहरूमा तिलक वर्माले ११ बलमा अविजित २४ रन जोड्दै भारतलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका थिए ।

१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको सुरुआत भने निकै खराब रह्यो । अर्शदीप सिंहले पहिलो ओभरमै फिल साल्ट र जोस बटलरलाई आउट गर्दै घरेलु टोलीलाई दबाबमा पारेका थिए । तर कप्तान ह्यारी ब्रुकले केवल १५ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेल्दै खेलको लय परिवर्तन गरे । त्यस्तै जेकब बेथेलले एक छेउ सम्हाल्दै अविजित ७६ रन बनाए भने टम ब्यान्टनले ३९ रनको योगदान दिए । भारतले बीचका ओभरमा पुनरागमन गरे पनि १७औं ओभर निर्णायक बन्यो । रवि विश्नोईले दुई नो-बलसहित २९ रन खर्चिएपछि इंग्ल्यान्डले खेल आफ्नो पक्षमा मोड्यो । बेथेलले फ्रिहिटको भरपुर फाइदा उठाउँदै टोलीलाई जित दिलाए । 

यो खेलको सबैभन्दा ठूलो आकर्षण १५ वर्षीय वैभव सूर्यवंशीको अन्तर्राष्ट्रिय डेब्यु रह्यो । १५ वर्ष ९९ दिनको उमेरमा उनले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नयाँ इतिहास रचेका छन् । यससँगै उनले १६ वर्ष २०५ दिनको उमेरमा डेब्यु गरेका सचिन तेन्दुलकरको ३७ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । 

अब सिरिजको तेस्रो खेल मंगलबार हुदैछ ।