Jul 03 2026

Jul 03 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

मुक्तिनाथ विकास बैंकद्वारा शिक्षामा सहयोग, १ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मुक्तिनाथ विकास बैंकले देशका विभिन्न जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा सहयोग वितरण गरेको छ।

बैंकले शिक्षाको प्रवर्द्धन र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, डिजिटल शैक्षिक उपकरण तथा खेलकुद सामग्री हस्तान्तरण गरेको जनाएको छ।

Education7.png

बैंकका अनुसार मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासमा १२८ विद्यार्थीलाई स्टेशनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी, डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री, रुपन्देहीको बुटवलमा २१ वटा स्कुल ब्याग, उदयपुरको बागचौरीमा ५० विद्यार्थीलाई स्कुल ब्याग, झापाको कचनकवलमा २०० विद्यार्थीलाई स्कुल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कुल ब्याग, सर्लाहीको राजघाटमा २०० विद्यार्थीलाई स्कुल ब्याग तथा कञ्चनपुरको तिलकपुरमा ११० बालबालिकालाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ।

त्यसैगरी, सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत बैंकले व्यहोरेको जनाएको छ।

Education6.JPG

बैंकले सुर्खेतको वीरेन्द्रनगर–८ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुरालाई एक थान डिजिटल स्मार्ट बोर्ड, रुपन्देहीको देवदह–१०, चरङ्गेस्थित विद्यालयलाई चार थान सिलिङ पंखा तथा महोत्तरीको बर्दिबास–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय र रुपन्देहीको बुटवल–७ स्थित सिद्धेश्वरलाल कुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरेको छ।

यस कार्यक्रमबाट आर्थिक रूपमा कमजोर तथा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बैंकले जनाएको छ।

Education 3.jpg