Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

रास्वपाले आफ्ना सांसदहरूलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने भएको छ । 

रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई  जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो ।

बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्ने, एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्ने,  निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समते सोही पोर्टलमा गराउनुपर्ने, नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग त्यही माध्यमबाट गुनासा राख्न सक्ने र त्यसको ट्रयाकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन हुने  जस्ता फिचरहरु रहेको बुर्लाकोटीले जानकारी दिएका छन् ।

कार्यक्रम बिहान साढे १० बजेदेखि शुरु हुने उनले बताए ।