Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

इक्वेडरलाई २–० ले हराउँदै मेक्सिको अन्तिम १६ मा

इक्वेडरलाई २-० गोल अन्तरले पराजित गर्दै मेक्सिको जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । अब मेक्सिकोले इङ्ग्ल्यान्ड र कंगो लोकतान्त्रिक गणतन्त्रबीचको विजेतासँग खेल्ने छ ।

घरेलु समर्थकहरूको उत्साहजनक साथ पाएको मेक्सिकोले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । खेलको पहिलो गोल खेलको २२औं मिनेटमा जुलियन किनोनेसले तीव्र प्रतिआक्रमणका क्रममा गरेका थिए । त्यसको नौ मिनेटपछि खेलको ३१औं मिनेटमा राउल हिमेनेजले सशक्त प्रहारमार्फत दोस्रो गोल थप्दै मेक्सिकोलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफमा मेक्सिकोले रक्षात्मक रणनीति अपनाउँदै इक्वेडरको लगातार दबाब सामना गर्‍यो । विपक्षी टोलीले गोल फर्काउने प्रयास गरे पनि मेक्सिकन रक्षापङ्क्ति र गोलरक्षकले कुनै अवसर सफल हुन दिएनन् ।

यो जितसँगै मेक्सिकोले विश्वकपको नकआउट चरणमा लगातार नौ प्रयासपछि पहिलो जित दर्ता गरेको छ । अब टोलीले क्वार्टरफाइनल प्रवेशका लागि इङ्ग्ल्यान्ड र कंगो लोकतान्त्रिक गणतन्त्रबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।