Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

अर्घाखाँची चुनढुंगा खानी विवादमा उद्योगले प्रष्टिकरण दिदैं भन्यो- सबै कानुनी प्रक्रिया र मापदण्ड पालना छ

अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–७ मा रहेको चुनढुंगा खानी तथा उद्योग सञ्चालनका विषयमा पछिल्लो समय सार्वजनिक रूपमा विभिन्न टिकाटिप्पणी, गुनासा तथा भ्रमपूर्ण अभिव्यक्तिहरू आएको भन्दै भूगर्भ सिमेन्ट लिमिटेडले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

उद्योगले खानी तथा उद्योग सञ्चालन पूर्ण रूपमा नेपाल सरकारका सम्बन्धित निकायबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), प्रारम्भिक वातावरणीय परीक्षण (आईईई), खानी सञ्चालन अनुमति तथा प्रचलित कानुन, नियमावली र मापदण्डहरूको पूर्ण पालना गर्दै भइरहेको दाबी गरेको छ। उद्योगले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा स्थानीय समुदायसँगको सहकार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको पनि जनाएको हो।


उद्योगका अनुसार २०७६ सालदेखि हालसम्म खानी तथा भूगर्भ विभागलाई रोयल्टीस्वरूप १२ करोड २७ लाख २२ हजार १६० रुपैयाँ, सन्धीखर्क नगरपालिकालाई १ करोड २९ लाख ३२ हजार ९०९ रुपैयाँ तथा डिभिजन वन कार्यालयलाई ३५ लाख ७८ हजार ४६७ रुपैयाँ राजस्व तथा शुल्क भुक्तानी गरिएको छ।


त्यसैगरी स्थानीय तहमा सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा शिक्षकको तलब–भत्ता सहयोग, सडक निर्माण तथा मर्मत, वृक्षारोपण, धुलो नियन्त्रण, विपद् राहत तथा शैक्षिक सहयोगलगायतका कार्यक्रममार्फत करोडौं रुपैयाँ बराबरको योगदान गरिएको उद्योगले जनाएको छ।

उद्योगले हाल करिब ३ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी रहेको जानकारी दिँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २०० भन्दा बढी श्रमिक, कर्मचारी, ढुवानी व्यवसायी तथा स्थानीय परिवारको जीविकोपार्जन यससँग जोडिएको उल्लेख गरेको छ। उद्योग सञ्चालन नियमित हुँदा स्थानीय व्यापार, यातायात, सेवा क्षेत्र, बैंकिङ कारोबार तथा समग्र जिल्लाको आर्थिक गतिविधि समेत चलायमान हुने दाबी गरिएको छ।

भूगर्भ सिमेन्ट लिमिटेडले स्वदेशी उद्योगहरू केवल निजी व्यवसाय मात्र नभई राष्ट्रिय उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, सरकारी राजस्व अभिवृद्धि तथा आर्थिक आत्मनिर्भरताका प्रमुख आधार भएको उल्लेख गरेको छ। उद्योग सञ्चालनमा अनावश्यक अवरोध सिर्जना हुँदा त्यसको प्रत्यक्ष असर श्रमिक, स्थानीय समुदाय, सरकारी राजस्व तथा समग्र लगानी वातावरणमा पर्ने चेतावनी पनि दिएको छ।


उद्योगका अनुसार विगत केही वर्षदेखि खानी तथा उद्योग सञ्चालनका विषयमा विभिन्न निकायमा उजुरी तथा मुद्दाहरू दर्ता हुँदै आएका छन्, जसका केही विषय अहिले पनि अदालतमा विचाराधीन छन्। अदालतबाट अन्तिम निर्णय नआएसम्म अपुष्ट सूचना, एकपक्षीय प्रचार तथा तथ्यहीन आरोपका आधारमा नकारात्मक धारणा बनाइनु न्यायोचित नहुने उद्योगको भनाइ छ।

उद्योगले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता तथा कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै तथ्य र प्रमाणमा आधारित निष्कर्षका आधारमा मात्र धारणा बनाउन सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

त्यस्तै, उद्योग–स्थानीय समुदाय र सरोकारवाला निकायबीच संवाद, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन पनि अनुरोध गरिएको छ।

भूगर्भ सिमेन्ट लिमिटेडले आगामी दिनमा वातावरणीय, सामाजिक, कानुनी तथा प्राविधिक दायित्वहरूको पूर्ण पालना गर्दै स्थानीय समुदायसँग सहकार्य, राज्यप्रतिको दायित्व निर्वाह तथा राष्ट्रिय औद्योगिक विकास र आर्थिक समृद्धिमा योगदान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।