सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म जनताको चाहनाअनुसारको परिणाम आउन नसक्ने बताएका छन् । ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले संविधानको अक्षरशः पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने पनि बताए ।
‘हामीसँग रहेको देश निर्माणको हुटहुटी, देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना तथा जनजीविकाका सवालमा प्रभावकारी ढङ्गले काम गर्ने सङ्कल्पलाई सफल बनाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–यी तीनै अङ्गको गति र भावना एकआपसमा मिल्नुपर्छ,’ सभामुख अर्यालले भने ।
उनले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबिच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताए ।