Jun 19 2026

Jun 19 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

सर्लाहीमा गाडी चोरी गर्दै गर्दा एक जना पक्राउ

सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि उनी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न प्रवेश गरेका थिए । सोही क्रममा घरधनीकी श्रीमतीले देखेपछि हल्ला गरेपछि घटना बाहिर आएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का १८ वर्षीय जुमुन मियाँ रहेका छन् । प्रहरीका अनुसार उनको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उक्त गाडी २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवन क्षेत्रबाट हराएको गाडी भएको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।