भारतमा सामाजिक सञ्जाल टेलिग्रामलाई अस्थायी प्रतिबन्ध लगाइएको छ ।
भारत सरकारले टेलिग्रामका केही विशेष प्रविधिगत सुविधाले परीक्षा सम्बन्धी अपराध नियन्त्रणमा चुनौती सिर्जना गरेको र प्रयोगकर्ताको पहिचान लुकाउन सकिने व्यवस्था, स्वचालित प्रणाली र सन्देश छिटो फैलाउने सुविधाको दुरुपयोग गर्दै प्रश्नपत्र चुहावट र नक्कली कारोबार सञ्चालन भइरहेको दाबी गर्दै अस्थायी प्रतिबन्ध लगाएको थियो ।
यस विषयमा टेलिग्रामले दायर गरेको रिटमा दिल्ली उच्च अदालतले खारेज गर्दै राष्ट्रियस्तरको चिकित्सा प्रवेश परीक्षाको सुरक्षा सुनिश्चित गर्न सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई कानुनी रूपमा वैध ठहर गरेको छ । अदालतको आदेशसँगै आगामी जुन २२ सम्म भारतभर टेलिग्राम सेवा बन्द रहने भएको छ ।
शुक्रबार न्यायाधीश तेजस करियाको एकल इजलासले सरकारको निर्णयलाई समर्थन गर्दै राष्ट्रियस्तरको परीक्षाको निष्पक्षता जोगाउन आपत्कालीन कदम चाल्ने अधिकार सरकारसँग रहेको जनाएको हो ।
अदालतले देशव्यापी चिकित्सा प्रवेश परीक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले न्यूनतम आवश्यक प्रतिबन्धात्मक उपाय अपनाएको र यो निर्णय अनुपातिक तथा उचित रहेको उल्लेख गरेको छ ।
सरकारले अवैध सामग्री हटाउन पटक–पटक अनुरोध गरे पनि प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेपछि मात्रै आपत्कालीन रूपमा सेवा अवरुद्ध गर्ने निर्णय लिइएको जनाएको छ ।
राष्ट्रिय परीक्षण निकायको सिफारिसमा गरिएको अनुसन्धानबाट चिकित्सा प्रवेश परीक्षा सम्बन्धी नक्कली प्रश्नपत्र बिक्री गर्ने टेलिग्राम च्यानल, समूह र स्वचालित प्रणालीको पहुँच करिब एक लाख ४६ हजार खातासम्म पुगेको पत्ता लागेको सरकारको भनाइ छ।
भारतमा गत मे ३ मा सम्पन्न स्नातक तहको चिकित्सा प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट भएको आरोप लागेपछि २२ लाखभन्दा बढी विद्यार्थीका लागि जुन २१ मा पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
टेलिग्रामले भने देशभर सेवा बन्द गर्नु र सन्देश सम्पादन सुविधा रोक्नु अत्यधिक कडा कदम भएको दाबी गरेको थियो । कम्पनीले यसबाट लाखौँ सामान्य प्रयोगकर्ता प्रभावित हुने तर्क प्रस्तुत गरेको थियो । तर अदालतले प्रतिबन्ध सीमित अवधिका लागि र विशेष उद्देश्यका लागि मात्र लगाइएको भन्दै यसलाई गैरकानुनी वा अत्यधिक कडा कदम मान्न नसकिने स्पष्ट पारेको छ । अदालतको निर्णयपछि जुन २१ मा हुने पुनः परीक्षासम्म भारतभर टेलिग्राम सेवा अवरुद्ध रहनेछ ।