Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

पिरतीले म सांसद र मन्त्री भएँ : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र वेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे।

उनले भने, ‘धेरैलाई महावीर पुन आएर नयाँ मन्त्रालय बनाएको भन्ने लागेको छ । यो नयाँ मन्त्रालय होइन । २०५३ सालमै बनेको मन्त्रालय हो तर विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग जोडिँदै आएको छ । २०७५ सालमा शिक्षामन्त्रालयसँग जोडियो। यसरी यो वेवारिसे र टुहुरो मन्त्रालयजस्तै बनाइयो,’ उनले भने।

मन्त्री पुनले हाल पुर्नजन्म लिएको मन्त्रालयका रूपमा स्थापना भएको उल्लेख गर्दै यसलाई मन्त्रालयको ‘सातौँ पुर्नजन्म’को संज्ञा दिए ।

उनले भने, ‘यो मन्त्रालयको सातौं पुर्नजन्म हो । यसमा राजनीतिकरण भयो। भागबण्डाको राजनीतिले यो मन्त्रालयलाई खायो। त्यसैले यो हेला गरिएको मन्त्रालय थियो। अहिलेको सरकारले यसलाई फेरि नयाँ मन्त्रालयका रूपमा ल्याएको छ ।’

आफू राजनीतिमा व्यक्तिगत महत्वाकांक्षाका कारण नभई देशप्रतिको माया र जिम्मेवारीबोधका कारण आएको पनि उनले बताए।

उनले भने, ‘देशसँग पिरती बसेको कारणले म सांसद र मन्त्री भएँ। नत्र म सांसद वा मन्त्री हुने मान्छे होइन । अमेरिकाबाट घुम्न मात्रै गाउँ आएको थिएँ। सुरुमा गाउँसँग माया बस्यो, त्यसपछि जिल्लासँग बस्यो र अन्ततः पूरै देशसँग नै माया बस्यो ।’ 

मन्त्री पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासमार्फत देशको समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।