प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्ट्याएको बजेटबारे प्रधानमन्त्री बालेन शाहले जबाफ नदिने भएका छन्।
प्रतिनिधि सभामा सामान्यतया मन्त्रालयगत बजेट छलफलमा उठेका प्रश्नको जवाबाफ सम्बन्धित मन्त्रीले नै दिने प्रचलन छ।
प्रतिनिधि सभा नियमावलीको नियम १ सय ४५ को उपनियम ९ ले बजेट माथिको छलफलका क्रममा कुनै शीर्षकमाथि उठेको प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले छलफलको अन्त्यमा दिनुपर्ने व्यवस्था गरेको छ।
नियमावली अनुसार रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छलफलमा उठेको प्रश्नको जबाफ स्वयम् प्रधानमन्त्रीले दिनुपर्ने हुन्छ।
तर,नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा अर्को मन्त्रीले जबाफ दिन सक्ने प्रावधान नियमावलीमा छ। त्यसैलाई देखाएर प्रधानमन्त्रीले आफ्नो तर्फबाट जबाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मा दिएका छन्।