Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ। 

टोलीले आज काठमाडौंको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको थियो । अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठलगायत प्राविधिक तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।

अनुगमनका क्रममा सचिव पुडासैनीले निर्माण प्रगति, गुणस्तर, कार्यसम्पादन अवस्था तथा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिएका छन् ।

उनले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । सचिव पुडासैनी आयोजना समयमै सम्पन्न गरी नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने जानकारी दिए ।
 
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख श्रेष्ठका अनुसार मेलम्चीको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा हाल एक हजार ८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । 

पिआइडीबाट यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप भएको उहाँले बताउनुभयो ।

इन्जिनियर श्रेष्ठले भने, ‘हाल विभिन्न स्थानमा रिजर्भयर ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पु¥याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा निर्माणको काम गरिरहेको छ ।’

टोलीले गोकर्णेश्वरस्थित विकेन्द्रीकृत फोहरपानी प्रशोधन प्रणालीको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा फोहोर पानी व्यवस्थापन, प्रशोधन प्रक्रियाको प्रभावकारिता तथा सञ्चालन अवस्थाबारे जानकारी लियो ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित यी संरचनाले काठमाडौँ उपत्यकाका नागरिकलाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउनुका साथै वातावरणमैत्री सरसफाइ व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

अनुगमनका क्रममा आयोजना कार्यान्वयनमा देखिएका चुनौती, आगामी कार्ययोजना तथा सेवाको दिगोपनाबारे छलफल भएको थियो ।