Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

इ–पासपोर्ट खरिद प्रकरण : आरजु अख्तियारको अनुसन्धान दायरामा, म्याद तामेल जारी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रक्रियामा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।

अख्तियारको अनुसन्धान टोली मंगलबार बूढानीलकण्ठस्थित निवासमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो।

देउवा दम्पती अहिले उपचारका लागि विदेशमा छन्। कानूनी प्रक्रिया अनुसार, बयानका लागि झिकाउनुपर्ने व्यक्ति सम्पर्कमा नआएमा उसको स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्ने हुन्छ ।

बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भग्नावशेष भइसकेको देउवा निवास परिसर बाहिर अख्तियारको टोलीले बयानका लागि डाकिएको म्याद तामेल गरेको पुष्टि गरे ।

'अख्तियार टोलीले आरजु राणा देउवामाथि अनुसन्धानका लागि म्याद तामेल गर्नु परेकाले सम्पर्क गरेको थियो। मैले भानु देउवासँग सम्पर्क गराइदिएको हो,' उनले भने।

भानु पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव हुन्।